लिग नभएमा लिभरपुल च्याम्प्यिन बन्न सक्ने



लन्डन, (एजेन्सी)

विश्वभरि फैलिरहेको महामारी कोरोना भाइरसको असर विश्वका विभिन्न खेलकुदमा लागिरहेको छ। यो क्रम बढ्दो छ। एकपछि अर्को गर्दै विश्वका ठूल्ठूला प्रतियोगिता स्थगित भइरहेको छ। कुनै स्थगित भएको छ भने कुनै रद्द गरिएको छ।

यसक्रममा इंग्लिस प्रिमियर लिग (ईपीएल) अप्रिलको पहिलो सातासम्मका लागि स्थगित भएको छ। शुक्रबार बसेको बैठकममा अप्रिल ३ सम्मका लागि लिग स्थगित गर्ने निर्णय भएको थियो।

जुन रूपमा कोरोना संक्रमण फैलिरहेको छ, यसमा लिग अझै पछि सर्ने सम्भावना रहेको जनाएको छ। बैठकमा प्रायजसो क्लबले खेलाडी र समर्थकको स्वास्थ्यलाई प्राथमिकताको रूपमा हेरेका थिए। ईपीएलका खेलाडी तथा पदाधिकारीलाई समेत कोरोनाले समातिसकेको अवस्था छ। यसैले समर्थक विना पनि खेल खेलाउने निर्णय लिएको थियो, तर यसमा कोही सहमत नभएको बीबीसीले जनाएको थियो।

सोही बैठकमा दुई क्लब वेस्ट हाम र टोटेनहामले लिग नै रद्द गर्नुपर्ने कुरा उठाएका थिए। उक्त प्रस्ताव यदि कार्यान्वयन भएमा यस सिजनको ईपीएल च्याम्पियन लिभरपुल नै हुनेछ। लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंक अग्रता लिँदै शीर्ष स्थान ओगटिरहेको छ।

यद्दपि लिभरपुलले २ खेल जितेमा च्याम्पियन बन्ने सहज समीकरण रहेको छ। तर तीन टोली रेलिगेसन हुने प्रावधानको विषयमा भने बैठकले रेलिगेसन नगर्ने पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्