पुलिसलाई हराउँदै मनाङले रच्यो कीर्तिमान  



विजय नेपाली, पोखरा

मनाङ मस्र्याङदी क्लबले १८औ संस्करणको आहा रारा कपको उपाधि चुमेसँगैं कीर्तिमान रचेको छ।

१५ वर्षपछि फाइनलमा भेट भएको नेपाल पुलिस क्लबलाई हराउँदै ६ पटकको विजेता बन्दै मनाङले कीर्तिमानी कायम गरेको हो। पुलिस ५ पटकको विजेता हो। २०५८ सालमा भएको क्याराभान गोल्डकपलाई समेत जोड्दा मनाङ र पुलिस ६–६ पटकको विजेता टिम हो। शनिबार पोखरा रंगशाला निमार्णधीन फुटबल मैदानमा भएको निकै रोमाञ्चक फाइनल खेलमा पुलिसलाई टाइब्रेकरमा ४–३  ले हराउँदै मनाङले उपाधि उचाल्यो।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो। जसमा मनाङले बाजी मार्यो। पुलिसले १५ वर्षअघि दुई पटकको हारको बदला लिने अवसर गुमायो भने विभागीय टोली आहा रारामा कीर्तिमानी सिर्जना गर्न समेत सकेन। आहा गोल्डकपको दोस्रो र तेस्रो संस्करणमा मनाङले पुलिसलाई फाइनलमा हराउँदै उपाधि चुमेको थियो।

मनाङले जितसंगै १० लाख १ हजार रूपियाँ प्राप्त गरेको छ भने उपविजेतामा सीमित पुलिसले ५ लाख १ हजार रूपियाँ हासिल गरेको छ। मनाङको जितमा गोलरक्षक अशोक बराल नायक बने।

टाइबे्रकरमा पुगेको खेलमा उनले पुलिसको दुई प्रहारलाई रोक्दै टिमलाई कीर्तिमानी विजेता बन्न योगदान पुर्याए। मनाङको तर्फबाट अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रन्जन विष्टले गोल गरेभने निशान लिम्बूको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरे।

पुलिसको तेज तामाङ र अजित भण्डारीको प्रहारले जाली चुम्न नसक्दा हार व्यहोरेको हो। दुबैको पेनाल्टी मनाङका गोलरक्षक अशोक बरालले बचाउ गर्दा पुलिस जितबाट चुकेको हो। पुलिसका लागि भोला शिलवाल, हेम तामाङ र बुद्धबल तामाङले गोल गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका अजित भण्डारी घोषित हुँदै अप्रिला स्कुटर प्राप्त गरे। अन्य विधामा भने मनाङले क्लिन स्विप गरेको छ। गोलरक्षक अशोक बराल, डिफेन्डर सुरज विक, मिडफिल्डर नितिन थापा, फरवार्ड अन्जन विष्ट, प्रशिक्षक फुजा टोपे उत्कृष्ट घोषित हुँदै नगद १५–१५ हजार रूपियाँ प्राप्त गरे।

उच्च गोलकर्ता थ्री स्टारका सुशान श्रेष्ठ, सहाराका त्रीदेव गुरुङ, मनाङका अन्जन विष्ट, पुलिसका भरत शाह र निरकुमार राई घोषित हुँदै नगद ५–५ हजार रूपियाँ प्राप्त गरे। प्रतियोगिताको अनुशासित टिम भने रुस्लान थ्रिस्टार घोषित भयो। खेलको म्यान अफ दी म्याच मनाङका गोलरक्षक अशोक बराल घोषित भए।

प्रतिक्रिया दिनुहोस्