दाबी भुक्तानी छिटो र सहज किसिमले गर्छौं : सुनिलबल्लभ पन्त



समय समयमा बीमा कम्पनीहरूको मर्जर हुनुपर्ने विषयमा बहस चल्ने गरेको छ। बीमा समितिले पनि यस विषयमा बहस चलाउने र मर्जरका लागि निर्देशन गर्ने काम गरिरहन्छ। यसैबीच, वर्तमान समयमा निर्जीवन बीमा कम्पनीको मर्जरको आवश्यकता कस्तो छ ? बीमा कम्पनी सुदृढ बनाउन के गर्नुपर्छ ? यी र यस्तै विषयमा नेपाल समाचारपत्रका लागि परिवर्तन देवकोटाले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्तसँग गरेको सम्पादित अंश :
वित्तीय क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?  

म यस क्षेत्रमा प्रवेश गर्नुमा मुख्य देन मेरो बुबाकै हो। म सानो हुँदादेखि नै मेरो बुबा राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत हुनुहुन्थ्यो। उहाँले काम गर्दैगर्दा मैले पनि केही बुझेँ। २०६२/०६३ सालसम्म म नेसनल लाइफ इन्स्योरेन्स एन्ड जरनल कम्पनीमा आबद्ध थिएँ।

पछि, यो कम्पनी जीवन र निर्जीवन गरी दुईवटा कम्पनी बन्यो। म चाहिँ निर्जीवन कम्पनीमा परेँ। त्यसपछि बनेको निर्जीवन बीमा कम्पनी ‘एनएलजी इन्स्योरेन्स’ मा मेरो काम शुरू भयो। कामको दौरानमा पफर्मेन्स राम्रो हुँदै गएकाले नै होला, मलाई व्यवस्थापकहरूले ‘अपग्रेड’ गर्दै लैजानुभयो। त्यसैको परिणामस्वरूप हाल प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छु।

जागिरको सिलसिलामा वित्तीय क्षेत्र नै रोज्न किन पुग्नुभयो ? 

म पहिलेदेखि नै सरकारीभन्दा पनि निजी क्षेत्रमा काम गर्न रुचाउँथें। निजी क्षेत्रमा आफूले ईच्छा लागेको काम गर्न पाउँथ्यौं। बुबाको पनि र परिवारका अन्य सदस्यहरूको पनि यही सुझाव थियो। उहाँहरूको सुझावकै कारण मैले यो क्षेत्र रोजेँ। काम गर्दागर्दै यहाँसम्म आइपुगेँ। बुबाकै कारण हाल म यो अवस्थामा छु। जहाँ जागिर खान्छौ त्यहाँ इमानदारीका साथ आफूले जिम्मेवारी बहन गर्न सक्नुपर्छ भनेर मैले काम शुरू गरेको दिन उहाँले भन्नुभएको थियो। सायद, त्यही लाइनमा नै म अघि बढेँ र यहाँसम्म आइपुगेँ।

कार्यालयको काम सकिएपछि अथवा फुर्सदको समयमा के गरी दिन बिताउनुहुन्छ ? 

म खेलकुदप्रेमी हुँ। पहिला म फुटबल, भलिबल, ब्याडमिन्टन र टेबलटेनिस सबै खेल्थेँ। हाल पनि कहिलेकाहीँ खेलिरहन्छु। कार्यालयको काम सकेर म प्रायः परिवारसँग हुन्छु। अनि मौका मिलिहाल्यो भने खेल पनि खेलिहाल्छु।

यहाँसम्म आउँदा गर्नुभएको स्मरणयोग्य वा यो चाहिँ नगरेको भए हुन्थ्यो जस्तो लाग्ने केही काम छ ?

हालसम्मको परिस्थितिमा धेरै नै गर्व गर्न लायक कामहरू गरिएको छ। सँगसँगै केही नगरेको भए राम्रो हुन्थ्यो भन्नेजस्ता पनि काम भएका छन् जस्तो लाग्छ। यसलाई म मानवीय गुणका रूपमा लिन्छु। कहिलेकाहीँ म ‘प्रोएक्टिभ’ भएर अघि बढ्थेँ। समयभन्दा अघि बढ्दा जीवनमा कहिलेकाहीँ ठेस लाग्ने रहेछ। मलाई एकपटक त्यस्तो महसुस भयो। मेरो सिनियर अफिसर भएको समयको मलाई विशेष याद आउँछ। त्यतिबेला आफूलाई दिइएको टास्कभन्दा अलि बढी गर्न खोज्दा डिसाइडिङ लेभलमा म सहभागी हुन पाइनँ। जसले अलि असहज महसुस भएको थियो।

फरक प्रसंग, वर्तमान परिवेशमा निर्जीवन बीमाको अवस्था कस्तो छ ? 

निर्जीवन बीमाको अवस्था एकदमै सुदृढ रहेको छ। दुईवटा हकमा म यो भन्छु। एउटा भनेको हाम्रो मुलुक समृद्धितर्फ अघि बढेकाले पूर्वाधार विकास पनि भइरहेको छ। यस्तै कृषि तथा पशुपन्छी र स्वास्थ्य बीमामा राज्यले लगानी गरेकाले बीमा बजार पहिलेको तुलनामा धेरै नै राम्रो भइरहेको छ। सरकारले बजेटमार्फत नै सबै जिल्लामा स्वास्थ्य बीमा गर्ने कार्यक्रम ल्याएपछि बीमा बजार सुदृढ बनेको छ।

अन्य क्षेत्रहरू जस्तै ः सवारीसाधन खरिदपछि बीमा गर्नुपर्ने, कर्जा लिँदा बीमा गर्नुपर्नेजस्ता विषय भनेको समयसापेक्ष हुँदै जाने कुरा हो, भइरहेका छन्।

हाल बीमा समितिले पनि बीमाबारे जनचेतना अभिवृद्धिको कार्यक्रमहरू सञ्चालन गरेको छ। स्थानीय तहसम्म पुगेर समितिले यस्ता काम गरिरहेको छ। यसबाट के बुझ्नुपर्छ भने बीमा बजार थप सुदृढ भइरहेको छ। यसले बीमाको दायरा बढेको छ।

बीमाको दायरा बढे पनि सहजै बीमा गराउन भने अझै पनि ग्राहक तयार हुँदैनन्, यो के कारणले होला ? 

हाल पनि बीमा गराउन अनकनाउने प्रवृत्ति त छ, तर यो चेतनाको अभावले हो जस्तो मलाई लाग्दैन। बीमा गराउन नै नचाहने प्रवृत्ति हो जस्तो लाग्छ। बीमाको महत्व बुझ्नै नचाहेको पो हो कि ?  शहरी क्षेत्रमा सबैजना पढेलेखेका, कुनै न कुनै किसिमको व्यवसायमा लागेका र हरेकदिन बीमाबारे बुझिरहेका हुन्छन्। तर, ती वर्गहरूले नै बीमा गर्न चाहेको देखिँदैन।

त्यसकारण चेतनाभन्दा पनि बीमाबाट आर्थिक क्षतिको व्यवस्थापन हुन्छ भन्ने हामीले बुझाउन नै नसकेका हौँ जस्तो लाग्छ। विश्वास नभएको भन्ने हो भने भूकम्पको बेला १५/१६ अर्ब रुपियाँ बीमा कम्पनीले नै क्षतिपूर्ति दिएको नै हो। यस्तै, सबै बीमा कम्पनीले क्षतिपूर्ति दिएकै छन्। हामी नेपालीहरूले बीमालाई बेवास्ता गरेर आफ्नो बहादुरी देखाएको हो कि जस्तो लाग्छ। यसरी हेर्दा बीमा बजारलाई बुझाउन स्कुलदेखि नै अध्ययन गराएमा सही ढंगले बुझाउन सकिन्छ।

बजारमा हाल पनि दाबी भुक्तानीकै समस्या छ भन्ने सुनिन्छ नि ?

हामीले दाबी भुक्तानीलाई छिटोछरितो माध्यमबाट नै अघि बढाइरहेका छौं। कुनै–कुनै बेला प्रकृतिगत घटनाहरू हुन सक्छन्, त्यससमयमा आवश्यक कागजात त चाहिन्छ नै, यो सबै मिलाउँदा केही ढिला हुन सक्छ। तपाईं बैंकमा आफूले राखेको पैसा आफूखुसी झिक्न पाउनु हुँदैन, बैंकले आफ्नो प्रक्रियाअनुसार दिने गर्छ। तर, बीमामा त एक रुपियाँको प्रिमियम किनेर १ हजार रुपियाँ दिनुपर्ने हुन्छ, अनि कागजात त चाहिन्छ नि। त्यस्ता प्रक्रियालाई ग्राहकले झन्झट मान्नु भएन।

दाबी भुक्तानीको कुरा गर्दा छँदै छैन त भन्दिनँ। तर, आजको दिनमा आफ्नो साख जोगाइराख्ने भनेको नै जसले छिटो दाबी भुक्तानी गर्छ उही अघि बढ्छ भन्ने सबैले बुझिसकेका छन्। त्यसैकारण ठूलो समस्या छ जस्तो लाग्दैन।

बीमा कम्पनीहरूमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको पनि सुन्नमा आउँछ। बीमा समितिले पनि बेलाबेलामा कम्पनीहरूबीच मर्जरको कुरा उठाइरहन्छ।

हाल भन्नैपर्दा बीमा कम्पनीहरूमा मर्जरको आवश्यकता हो कि होइन ? 

अस्वस्थ प्रतिस्पर्धाकै कुरा गर्दा पहिले १७ वटा निर्जीवन बीमा कम्पनी थिए। हाल ३ वटा बढेर २० वटा भएका छन्। यो त्यति धेरै संख्या पनि होइन। त्यसकारण ठूलो संख्यामा बीमा कम्पनी थपिएकाले अस्वस्थ प्रतिस्पर्धा भयो भन्ने अवस्था पनि छैन। हामी बीमा कम्पनीहरू पनि यसबारे सचेत छौं। हालसालै बीमा कम्पनीमा अस्वस्थ प्रतिस्पर्धा हुन नदिनका लागि हामीले ग्राहकहरूलाई सहज र सहज तरिकाले काम गर्ने, सबै कम्पनीबाट बीमाबारे एउटै बुझाइ दिनुपर्ने विषयमा छलफल गरिरहेका छौँ।

बीमा समितिले पनि विभिन्न परिपत्र जारी गर्दै बीमा कम्पनीलाई निर्देशन गरिरहेको छ। भर्खरै मात्र तीन÷चारवटा मार्गदर्शन जारी भइसकेका छन्। दाबी भुक्तानीसम्बन्धी, जोखिम व्यवस्थापनसम्बन्धी मार्गदर्शनहरू जारी भइसकेका छन्। त्यहीअनुसार सबै बीमा कम्पनी जानुपर्ने अवस्था नै छ। त्यसकारण कम्पनीहरूमा अस्वस्थ प्रतिस्पर्धा हुन्छ भन्ने आधार अब नरहेको अवस्था छ।

मर्जरको कुरा गर्दा बीमा समितिले यसको ढोका खोलिदिएको हो। बीमा कम्पनीहरूको अस्वस्थ प्रतिस्पर्धा घटाउनका लागि र भोलिका दिनमा थप बलियो बनाउनका लागि समितिले हाल नीति ल्याएर मर्जरका लागि ढोका खोलेर राखिदिएको हो। आवश्यकता हुनेबित्तिकै कम्पनीहरू मर्जरमा जान सक्छन्।

हाल बीमा क्षेत्रमा चुनौतीको विषय के–कस्ता देखिन्छन् ? 

हाल जुन हिसाबले बीमा कम्पनीको पुँजी बढेको छ, त्यही हिसाबले बीमाको दायरा त्यति धेरै बढेको देखिएको छैन। यो एक मुख्य चुनौतीको विषय हो। यसमा बैंकको लगानी र गाडीको बीमाले पनि यसमा भूमिका खेल्दछ। भौतिक पूर्वाधारको निर्माणमा सरकारले त्यति लगानी नगरिरहेको देखिन्छ। गाडीको व्यवसाय पनि सुस्ताइरहेको अवस्था छ भने बैंकिङ कर्जाहरू पनि कम भएको देखिन्छ। यी तीनै सेग्मेन्टले बीमाको शुल्क अभिवृद्धि गर्छ। यसमा कमी आएको हुनाले अलिकति चुनौती देखिएको छ।

यस्तै, बीमा समितिले हाल एकैपटक मार्गदर्शनहरू ल्याएको छ। हामीले त्यसलाई आन्तरिक नीति बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसका लागि हामीलाई समयसीमा आवश्यक हुन्छ। एकैपटक दिग्दर्शनहरू आउँदा समय तथा कर्मचारी व्यवस्थापन गर्नै हामीलाई गाह्रो परिरहेको अवस्था छ।

बीमा समितिले अब दिग्दर्शन ल्याएर मात्र बसेको त होइन। उसले कर्मचारीहरूलाई पनि तालिम दिइरहेको छ। बजार विस्तारमा पनि उत्तिकै सक्रिय भएर लागिरहेको छ। समितिले दिग्दर्शनलाई एकैपटक नभई समयसीमालाई व्यवस्थापन गर्न सहज हुने गरी राखिदिए हामीलाई सहज हुने थियो।

अब कम्पनीको कुरा गरौँ, एनएलजी इन्स्योरेन्सको वर्तमान अवस्था कस्तो छ ?

हाम्रो कम्पनी राम्रो छ। हाम्रो पुँजी नपुगेको अवस्था थियो। बीमा समितिले दिएको समयसीमामा पूरा हुनेछ। हामीले समितिको फ्रेमवर्कमा रहेर ‘राइट सेयर’ का लागि २१ दिनभित्र आवेदन दिनका लागि सर्वसाधारणहरूमा आह्वान गरिसकेका छौँ।

चैतसम्ममा पुँजी पुगिसकेको हुन्छ। प्रिमियम भुक्तानीलाई हेर्दा हाल पनि हामी ‘टप ५’ भित्र नै छौं। शाखाका हिसाबले सबैभन्दा ठूलो भएका छौँ। सञ्जाल ठूलो भएकाले नै हामीले इन्टर्नल कन्ट्रोल बलियो गराउने हिसाबले काम गरिरहेका छौँ।  कर्मचारीहरूलाई विभिन्न तालिमहरू दिइरहेका छौँ। इन्डिया र सिंगापुरमा विभिन्न समयमा लगेर हामीले प्रशिक्षण तथा तालिमहरू दिइरहेका छौँ।

एनएलजी इन्स्योरेन्समा नै बीमा किन ? 

हामीले दाबी भुक्तानी अति छिटो दिने गरेका छौँ। हामीले दाबी भुक्तानीलाई सहज, सरल ढंगबाट दाबी फस्र्योट गर्छौं। केही भवितव्य भइहाल्यो भने बीमा समितिले निर्दिष्ट गरेको क्षतिपूर्ति प्राप्तिका लागि हामीले चुस्त र दुरुस्त व्यवस्था गर्छौं। यही नै एउटा कारण हो, ग्राहकहरू एनएलजी इन्स्योरेन्समा आकर्षित हुने।

प्रतिक्रिया दिनुहोस्