‘जनप्रतिनिधिको मातहतमा बसेर काम नगर्ने अधिकृत लखेट्छौं’



स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पूरा भएको छ। यसबीचमा मोरङको सुन्दरहरैंचा नगरपालिकाले केकस्ता काम गर्यो। पर्यटकीय क्षेत्रमा कस्ता काम  भइरहेका छन्। विकास निर्माण तथा योजनाका काम तथा गत फागुन १४ गते बसेको संघीय संसदले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुन्दरहरैंचाको गोठगाँउमा रहने भनी ऐन पास गरेको छ। ऐन नै पास भएपछि भने केन्द्रीय कार्यालय अब गोठगाउँ हुने निश्चित भएको छ। यिनै विषयमा सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालसँग नेपाल समाचारपत्रका लागि सरोज यादवले गरेको कुराकानीको सारसंक्षेप ः

गत फागुन १४ गते बसेको संघीय संसदको बैठकले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुन्दरहरैंचाको गोठगाउँमा नै रहने भनी ऐन पास गरेको छ। यहाँको धारणाचाहिँ के हो ?

शैक्षिक तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न पर्याप्त भवन निर्माण भइनसकेको तत्कालीन अवस्थामा केन्द्रीय कार्यालय विराटनगरमा भाडाको घरमा राखी सञ्चालन भइरहेको थियो। त्यही सन्दर्भमा स्थानीय तहको निर्वाचनपश्चात् नगर कार्यपालिकाले २०४७ साल साउन २४ गते पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिसमक्ष केन्द्रीय कार्यालय गोठगाउँमा नै राख्नका लागि प्रतिनिधि मण्डलसहित विराटनगरमै गएर दबाब सृजना गरेको थियो।

त्यसपश्चात् मोरङका ९ वटा पालिकाबाट केन्द्रीय कार्यालय गोठगाँउमा नै हुनुपर्ने भन्ने मागसहित निरन्तर पहल, दबाब, खबरदारी भएको समेत स्मरण गराउन चाहन्छु। गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भई विराटनगरमा सम्पन्न रजत जयन्ती कार्यक्रममा समेत यस नगरपालिकाको कार्यपालिका बैठकले असहमति जनाएको विषयमा राष्ट्रपति र शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलबाट समेत गोठगाउँ परिसरमा नै केन्द्र सार्ने विषयमा चासो व्यक्त गर्नुभएको थियो।

यस विषयलाई सरकार र सदनसम्म पुर्याई ऐन पास गराउन महत्वपूर्ण भूमिका खेल्नुहुने स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकाल, लालबाबु पण्डित, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, प्रदेश सरकार तथा यस क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरू, विश्वविद्यालय सभाका सिनेट सदस्यहरू, सुन्दरहरंैचा नगरका जनप्रतिनिधिहरू, सम्पूर्ण राजनीतिक दल, संघ संस्था एवं सम्पूर्ण सुन्दरहरंैचा नगरबासीलाई विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा कायम भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु।

हामीले किसान, महिला, आदिवासी, जनजाति, दलित समुदायलाई विभिन्न लक्षित कार्यक्रम ल्याएका छौं।
स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुग्न लागेछ, सुन्दरहरैंचा कसरी अगाडि बढिरहेको छ ?

हामीले पूर्वमै उत्कृष्ट स्थानीय तहका रूपमा काम गरिरहेका छौं। सबै १२ वटै वडामा इन्टरनेट विलिङ सिस्टम लागू गरेका छौं। यो सुविधाको कारणले सेवाग्राहीहरू सुन्दरहरैंचाको मुख्य कार्यालयमा आइरहनुपर्दैन। घरजग्गा सम्पन्नताको र व्यावसायिक दर्ताको प्रमाणपत्र लिनबाहेक सेवाग्राही केन्द्रीय कार्यालय पुगिराख्नुपर्दैन।

कृषि, शिक्षा, स्वास्थ्य, भेटेरीनरीलगायतका कार्यालयहरू हाम्रा मातहतमा आएका छन्। नगरभित्रका यी निकायको नियमन र व्यवस्थापन हामीले नै मिलाइरहेका छौं। १२ वटा वडामध्ये ४ वटा वडा साविकको सुन्दरदुलारी नगरपालिकाको केन्द्र रहेको ठाउँमा ४ नम्बर वडामा स्थानान्तरण गरेका छौं। र, त्यसै गरी भेटेरिनरी कार्यालय, सहकारी शाखा, न्यायिक समितिको न्यायिक इजलास पनि सोही स्थानमा स्थानान्तरण गरेका छौं।

यस आर्थिक वर्षमा एक अर्ब ९ करोडको बजेट तयार गर्नुभएको छ, कसरी खर्च गरिराख्नुभएको छ ?

हामीले बजेटको भोल्युम अलिकति बढाएका हौं, एक्चुअल बजेट झन्डै हाम्रो ८० करोड मात्र हो। तर, हामीले अनुमानका आधारमा राजस्व अलिक बढी उठ्छ, नेपाल सरकारबाट पाउने अनुदान अलिक धेरै हुन्छ भन्ने हिसाबले अनुमानित लक्ष्य प्रक्षेपण गरेका थियाँं। तर, हामीले सोचेको जतिचाहिँ बजेट नेपाल सरकारले हामीलाई दिएन।

पाएको बजेट मध्येबाट लगभग ४५ करोड पूर्वाधार विकास बजेट हो, १९ करोड शिक्षक कर्मचारीको तलबका निम्ति जान्छ। ५ करोड प्रशासनिक कर्मचारीका तलबको रूपमा जान्छ। झन्डै २१ करोड सामाजिक सुरक्षा भत्ताका रूपमा जान्छ। यो सबै कटाउँदा हाम्रो ४५ करोड जति विकास निर्माण र सामाजिक क्षेत्रमा जान्छ। त्यसमध्ये पनि २० प्रतिशत रकम सामाजिक विकास र सामाजिक क्षेत्रमा खर्च गर्नुपर्छ भनेर हामीले बजेट विनियोजन गर्दा नै वडामा सिलिङ तोकेर पठाउँदै आएका छौं। वडाले योजनाहरू पठाएका छन्। ती योजनाहरू अन्तिम चरणमा छन्।

पर्यटन वर्ष २०२० कसरी मनाइरहनुभएको छ, योजनाहरू कस्ता–कस्ता छन् ?

हामी नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको संसारकै सबैभन्दा ठूलो गाईको प्रतिमा बनाउँदै छौं। गाईको मात्र हैन हामीले बौद्ध विहार, साकेला थान, मस्जिद, दिना भद्रिकाका मन्दिरहरू पनि बनाउँदै छौं। धार्मिक तथा आन्तरिक पर्यटक भित्याउन गाईको प्रतिमा महत्वपूर्ण कडी हुन सक्छ।

हामीसँग बाह्य पर्यटकहरू तत्कालै बढी आउन सक्ने सम्भावना देखिँदैन तर आन्तरिक पर्यटकचाहिँ शनिबार र बिदाको दिन नगरभित्रका सबै क्षेत्रमा गरेर झन्डै ७–८ हजारको संख्यामा आउने गरेका छन्। हामीसँग धेरै सिमसार जलाधार क्षेत्र छन्, हामीसँग दुईवटा ठूला राम्रा प्रकृतिका रिसोर्टहरू छन्। हाम्रो हसिना सिमसार र वृन्दावन गौशाला बनिसकेपछि बा≈य पर्यटकहरू पनि हामी भित्याउन सक्छौं भन्ने छ।

गाईको प्रतिमा कहिलेसम्ममा तयार भइसक्छ त ?

अबको एक वर्षभित्रमा यी सबै संरचना लगभग तयार भइसक्छन्। हामीले त्यही अनुरूपको काम अगाडि बढाएका छौं।

सुन्दरहरैंचालाई व्यापारिक नगर पनि भन्ने गरिन्छ, यहाँका विकासका योजना कस्ता छन् ?

भूगोलको हिसाबले यो नगर अत्यन्तै ठूलो छ, बसाइँ सराइको अनुपातलाई हेर्दा प्रदेशका १४ वटै जिल्ला र बा≈य जिल्लाहरूबाट पनि मानिसहरू आएर पनि बसोबास गरिरहनुभएको छ। छोटो समयमा प्रगति भएको नगरपालिका पनि हो। यहाँ उद्योग कलकारखाना पनि खुल्ने क्रम जारी छ। सयभन्दा बढी संख्यामा उद्योग कलकारखाना खुलेका छन्। जसले आएर यहाँ उद्योग खोल्न चाहनुहुन्छ, १० करोडभन्दा बढी लगानी गर्न चाहनुहुन्छ, हामीले उहाँलाई ५ वर्षलाई ट्याक्स फ्रि गर्ने र भौतिक पूर्वाधार त्यहाँसम्म पुर्याउने भनेर भनेका छौं। हामीले उत्तरी मोरङ हेर्ने गरी दमकलको सेवा दिइरहेका छौं।

घरदेखि घाटसम्म निःशुल्क शव वाहन चलाएका छौं, हामी जनप्रतिनिधि आउनुभन्दा अगाडिको ट्याक्सको समस्या थियो, त्यो हल गरेका छौं। १६ प्रकारका ट्याक्समा छुटको व्यवस्था गरेका छौं। हामीले किसान, महिला, आदिवासी, जनजाति, दलित समुदायलाई विभिन्न लक्षित कार्यक्रम ल्याएका छौं। हामीले हाल नमुनाको रूपमा विराटचोक घिनाघाट क्षेत्रमा वाकिङ स्टेटको निर्माण गरेका छौं।

यो सम्पन्न हुन बाँकी छ। ५ वटा सिमसारलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्ने भनेका छौं। हामी वेस्ट टु इनर्जीको मोडलमा गएर फोहोर मैला व्यवस्थापनका लागि एउटा कम्पनीसँंग एमओयू गर्ने चरणमा छौं। एक नम्बरको प्रहरी कार्यालय सुन्दरहरंैचामा स्थापित भइसकेको छ। कर कार्यालय उत्तरी मोरङलाई हेर्ने गरी स्थापना भइसकेको छ। हामी बामे सरेर भर्खर पाइला टेक्दै छौं।

प्रदेश सरकारले गौरवको योजनाको रूपमा रहेको विराटचोक–घिनाघाट सडक निर्माणले सुन्दरहरैंचामा कस्तो महत्व राख्छ ?

हाम्रो प्रस्थान विन्दु नै यही सडक हो किनभने सुन्दरहरंैचाको मुख्य भूभागबाटै यो शुरू हुन्छ। यहाँको झन्डै ८ किलोमिटर भूभाग यो सडकले छुन्छ। जम्मा यो सडकको लम्बाइ साढे १९ किलोमिटरमा ८ किलोमिटर सुन्दरहरैंचालाई छुन्छ। यसको मुख्य प्रवेशद्वार विराटचोक हो। यहाँबाट विराटनगर हुँदै भारतको ३ वटा प्रदेश र राजधानी दिल्लीसम्म पुग्छ र किमाथान्का हुँदै चीनसम्म सीधा सम्बन्ध राख्छ। यो निकै महत्वपूर्ण सडक हो। प्रदेश सरकारले गौरवका रूपमा लिएर जुन सडक निर्माण थालेको छ यसमा सुन्दरहैंचा नगरपालिकाले पनि नैतिकरूपमा सहयोग गरिरहेको छ। सुन्दरहरंैचाको विकासको लागि यो कोसेढुंगो नै सावित भएको छ।

सुन्दरहरैंचा नगरपालिकाको कार्यालय अन्यत्रै सार्ने चर्चा चल्न थालेको छ। यसमा कत्तिको सत्यता छ ?

नगरपालिकाको कार्यालय सार्नै पर्ने अवस्था देखिएको छ। किनभने हाल रहेको नगरपालिका कार्यालय नगरको पूर्वी भागमा छ। नगरपालिकाको भूभागको हिसाबले यसलाई मध्यमध्य भागमा लैजाँदा उपयुक्त हुन्छ भन्ने नै हो। हामी निर्वाचित जनप्रतिनिधि भएर आउनुअगाडि राजनीतिक, सर्वपक्षीय सहमति भएको विषय हो। सलकपुरमा कार्यालय सार्ने कुरामा कसैको विमति नै छैन। नगरसभाले पास गरेको छ। अब कसैले हुन नदिन पर्दापछाडिबाट खेल गर्नु फरक पाटो हो। तर, मलाई विश्वास छ कार्यालय सलकपुरमा जान्छ, जानु पनि पर्छ त्यो भूगोलको आवश्यकता हो। कुनै बाधा अवरोध आयो भने म त्यसविरुद्ध लड्न तयार छु।

मेयर र उपमेयर फरक दलबाट हुनुहुन्छ, काम गर्न कतिको सहज छ ?

काम गर्न त्यति सजिलोचाहिँ छैन। तर, म अप्ठ्यारालाई सहजरूपले लिन्छु। राजनीतिक रूपमा अलिअलि उथलपुथल हुनु स्वाभाविक छ। आफ्ना आफ्ना व्यक्तिगत र दलका इन्ट्रेस्ट रहन्छन्। तर, पनि नगरप्रमुखका रूपमा म भइरहँदा संयमित ढंगले सबै निर्वाचित साथीहरूलाई मिलाएरै लगिराखेको छु र पनि छिटपुट घटनाहरू हुन्छन्। त्यस्तो धेरै ठूलो अप्ठ्यारो अवस्था आएको छैन।

कर्मचारीबाट कतिको सहयोग पाइराख्नुभएको छ ?

म कांग्रेसबाट जितेको मेयर, सरकार नेकपाको छ। अहिले देशैभरि कांग्रेसले निर्वाचन जितेका ठाउँमा कुरा के हो भने सरकारले मेयरलाई असहयोग पुग्ने गरीका कर्मचारी पठाउने। सक्ने ठाउँमा दलले पेल्ने नसक्ने ठाउँमा कर्मचारी लगाएर दुःख दिने गरी योजना बनाएको छ। त्यहीअनुसार हामीकहाँ पनि कार्यकारीहरू धेरै जना फेरिए। यसको मुकाबिला हामीले गरिरहेका छौं।

जनप्रतिनिधिको मातहतमा बसेर काम नगर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हामी यहाँबाट लखेट्छौं। यदि जनप्रतिनिधिको मातहतमा बसेर जनताको काम गरे भने ठीक छ। नभए भ्रष्टचारमात्र गर्ने, खाने मात्र दाउ गर्ने र जनतालाई दुःख दिने खालका कर्मचारी जसरी सरकारले बारम्बार नियोजितरूपमा पठाउँछ त्यस्तालाई हामी लखेट्छौं।

सरकारले सुनियोजित ढंगले त्यस्ता कर्मचारी पठाउँछ भन्न खोज्नुभएको हो ?

हो, कांग्रेसबाट जितेका नगरप्रमुखलाई दुःख दिने, फसाउने र काम गर्न नदिने हिसाबले माथिबाट डिजाइन गरेर त्यस प्रकारका कर्मचारी पठाइरहेको छ सरकारले। सुन्दरहरंैचाको हकमा भन्ने हो भने काम गरेन, भ्रष्टचार गर्यो, गलत गर्यो भन्ने ठाउँ नपाएपछि कर्मचारीको सहारा लिएर नगरप्रमुखलाई रोक्ने छेक्ने र असफल बनाउने काम भएको छ।

प्रतिक्रिया दिनुहोस्