७४ घुमुवा प्रहरीलाई विप्लव समूहको सुराकी गर्न पूरा जिम्मेवारी



नेपाल समाचारपत्र, काठमाडौं ।

घुमुवाका रूपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायतका मातहतका कार्यालयमा कार्यरत घुमुवाहरूलाई एकैपटक हटाएर उनीहरूलाई गणमा पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो।

उनीहरूलाई जिम्मेवारीबाट हटाएर एकहप्ते आचरण सुधारका लागि महानगरीय प्रहरी शिक्षालय महाराजगन्जमा पठाइएको समेत उहाँले जानकारी दिनुभयो।

घुमुवा प्रहरीको नाममा काम गर्न नसकेका उनीहरूलाई जिम्मेवारीबाट मुक्त गर्नुका साथै संगठनमाथि लाग्ने गरेको कलंकसमेत मेट्न उक्त प्रयास गरिएको डीआईजी पोखरेलले जानकारी दिनुभयो।

घुमुवाका नाममा खटिएका प्रहरीले सूचना संकलनभन्दा पनि उठौतीमा बढी संलग्न हुने गरेको गुनासो आएपछि लामो समयदेखि एउटै काममा संलग्न रहेका तर उनीहरूबाट संगठनले खोजेजस्तो काम गर्न नसकेकालाई हटाइएको पनि उहाँले जानकारी दिनुभयो।

एकैपटक जिम्मेवारीबाट मुक्त गरिएका उनीहरूलाई निर्देशन दिने क्रममा डीआईजीले प्रहरी कर्मचारीमा प्रतिबद्धताको कमीका कारण संगठनले सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको बताउनुभएको थियो।

उपत्यकाको शान्ति सुरक्षा कायम गर्न इन्टिेलिजेन्समा खटिनेहरूको आचरण सकारात्मक नभए तत्कालै हटाउने गरी काम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो।

अब महानगरीय प्रहरी कार्यालयले हरेक महिना इन्टेलिजेन्टमा खटिनेहरूको मूल्यांकन गर्ने र कार्यालयले सोचेजस्ता सूचना संकलन गर्न नसक्नेलाई तत्काल फिर्ता गराउने रणनीतिसमेत अख्तियार गरेको डीआईजी पोखरेलले दाबी गर्नुभयो।

सादा पोसाकमा खटिने प्रहरी अधिकृत तथा जवानहरूलाई कार्यालयले अब प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य अपराधको सुराकीका लागि मात्रै परिचालित गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो।

घुमुवाका रूपमा प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षकसम्म परिचालित हुने गरेका छन्। कतिपय कार्यालय प्रमुखले आफ्नो व्यक्तिगत हितका लागि समेत घुमुवा प्रयोग गर्ने गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्