पर्वत अस्पतालमा पहिलो एपेन्डिसाइटिसको अप्रेसन,चालिस हजार खर्च लाग्ने अप्रेसन ७ हजारमै



दुर्गाप्रसाद शर्मा,पर्वत

सेवामा सुधार गर्दै लैजान थालेको पर्वत अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको छ। पर्वत अस्पतालमा शुक्रबार २० वर्षीया एक युवतीमा देखा परेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको हो । पर्वत अस्पतालमा यस अघि एपेन्डिसाइटिसको शल्यक्रिया भएको थिएन । तर बिरामीको अबस्था नाजुक भएका कारण पोखरा पठाउन समेत समस्या देखिएको बेला पर्वत अस्पतालकै डाक्टर बिष्णु भण्डारी नेतृत्वटिमले शल्यक्रिया गर्न सफल भएको छ ।

डा. विष्णु भण्डारी नेतृत्वको चिकित्सकीय टोलीले निकै सहज तरिकाले जिल्लामै पहिलोपटक ’क्रोनिक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

‘बिरामीमा इन्फेक्सन सुरु भएर पिप जम्मा भइसकेको थियो, छिट्टै प्वाल पर्ने अवस्था थियो, उपचारको लागि पोखरा लैजाने प्रयास गरेको भए झन्डै साढे २ घण्टा लामो बाटोमा जे पनि हुन सक्थ्यो,’ उहाँले भन्नुभयो ‘पर्वतमा यस्तो शल्यक्रिया पहिलोपटक भएको हो, तर डा. भण्डारीले यसअघि पनि यस्ता शल्यक्रिया धेरैपटक गरिसक्नुभएकाले बिरामीलाई यहीँ जोगाउन सकियो।’ शल्यक्रियामा डा. विष्णु भण्डारीको नेतृत्वमा डा. शिशिर देवकोटा, डा. सागर बराल, डा. सन्तोषी थपलिया, डा. सतिश बास्तोला र डा. सुरज नेपाली लगायतको टोली खटिएको थियो।

एपेन्डिसाइटिस जस्ता समस्या देखापर्दा हजारौं रुपैयाँ रकम बोकेर पोखरालगायत देशका अन्य अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ । जिल्ला जिल्ला बाहिर एपेन्डिसाइटिसको उपचार गराउन जाँदा बिरामीहरुको कम्तिमा ४० हजार रुपैयाँ खर्च हुने गरेको छ। पर्वत अस्पतालमा जम्मा ७ हजार रुपैयाँमा नै एपेन्डीसाइटीसको शल्यक्रिया गर्ने भनेर निर्धारण भएकाले महंगो शुल्क तिर्नुपर्ने अबस्था अन्त्य भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।

‘यही कुस्माकै मान्छेलाई एपेन्डीसाइटीस भयो भने पोखरा पुगेर निजी अस्पतालमा सबै काम सक्दा झन्डै ५० हजार रुपैयाँजति खर्च हुन आउँछ,’ उहाँले भन्नुभयो , ‘साढे दुई घण्टा टाढाको पोखरा सहरमा त्यति महँगो उपचार छ, तर पर्वत अस्पतालमा ७ हजार रुपैयाँमा बिरामीले अब एपेन्डिसाइटिसको शल्यक्रिया उपचार पाउने भएका छन्।’

शल्यक्रियामा संलग्न डा. विष्णु भण्डारी पर्वतमा एपेन्डीसाइटीसको शल्यक्रिया सहजै रुपमा गर्न सकिने अवस्था रहेकोले यस क्षेत्रका बिरामीलाई अब अन्यत्र लैजानु नपर्ने बताउनुहुन्छ । लामो सडक यात्राबाट शल्यक्रियाका लागि पोखरा पठाउँदा एपेन्डीसाईटीस फुलेर फुट्न सक्ने र त्यसबाट बिरामीको ज्यानै जान सक्ने भएकाले त्यो जोखिम मोल्नुभन्दा पर्वत अस्पतालमा नै सुरक्षित शल्यक्रिया गराउनु उत्तम हुने उहाँको भनाई छ ।

यस बाहेक पर्वत अस्पतालमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा समेत शुरु भएको छ । शनिबार पनि एक जनाको शल्यक्रिया गरेर बच्चा जन्माउने काम भएको छ । यस अघि डाक्टर, एनेस्थिसिया लगायतको अभाबमा सेवा शुरु गरेपनि निरन्तर चल्न सकेको थिएन ।
समाप्त चैत्र १

प्रतिक्रिया दिनुहोस्