जातीय संग्रहालय बने महोत्सवको मुख्य आकर्षण



शिक्षा पन्त,लमजुङ ।

सदरमुकाम बेसीशहरमा जारी दोस्रो आदीवासी जनजाति लमजुङ सांस्कतिक एवम् पर्यटन महोत्सवको मुख्य आकर्षणमा विभिन्न जातजातिहरुको परम्परागत घर बनेका छन् । महोत्सवस्थलमा नौं आदिवासी जनजाति नेवार, मगर, तामाङ, भुजेल लगायतका जातीय संग्रहालय निर्माण गरिएको छ । महोत्सव मार्फत जिल्लाभित्र रहेका विभिन्न जातजातिहरुको कला संस्कृतिलाई उजागर गर्ने उद्देश्यले उक्त संग्रहालय निर्माण गरिएको हो ।

विभिन्न जातजातिको कला संस्कृति, खानपान र रहनसहनलाई महोत्सव मार्फत उजागर गर्नको लागि घरहरु निर्माण गरिएको महोत्सव मूल समारोह समितिका संयोजक एवंम् आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष हरिजंग तामाङले बताउनुभयो ।

जातजातिहरुको कला संस्कृतिलाई दर्शक सामु झल्काउने उद्देश्यले महोत्सवमा जातजातिको संग्रहालय निर्माण गरेको अध्यक्ष तामाङको भनाई छ । उहाँले भन्नुभयो, ‘हिजो आज गाउँ घरमा परम्परागत शैलीका घरहरु लोप भएकोले नयाँ पुस्तालाई देखाउनको लागि पनि जातजातिको घर निर्माण गरिएको हो ।’महोत्सवमा खरले छाइएका फरक–फरक शैलीका घरहरु हेर्नको लागि दर्शकहरुको घुइँचो लाग्ने गरेको छ ।

गाउँले शैलीमा निर्माण गरिएका आकर्षक घरहरुले महोत्सवमा आउने हजारौं दर्शकहरुको मन जितेको अध्यक्ष तामाङले बताउनुभयो । महोत्सव हेर्न आउने अधिकांश दर्शकहरुले एकपटक खरले छाएका घरहरुमा पुगेर फोटो खिच्ने र तुरुन्तै सामाजिक सञ्जालमा राख्ने गरेका छन् ।

विभिन्न जातजातिहरुले दैनिक जीवनमा प्रयोगमा आउने सामाग्री तथा आफ्नो संस्कृति झल्काउने खालका स्थानीय उत्पादनहरु पनि घरमा सजाएर राखेका छन् । मौलिक संस्कृति, भाषा र सम्यता हाम्रो पहिचान, एकता, समान अधिकार र आर्थिक समृद्धिको लागि पर्यटन’ भन्ने नाराका साथ २३ बाट सुरु भएको महोत्सव चैत २ सम्म चल्नेछ । महोत्सवमा १ सय ७५ वटा स्टल रहेका छन् ।

महोत्सव अवधिभर २ लाख पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ । २ करोड रूपैयाँ बराबरको कारोबार हुने अपेक्षा लिइएको छ । लमजुङ पर्यटकीय जिल्ला भएकाले विभिन्न जातजातिको कला, संस्कृति, भाषा अनि भेषभुषाको जगेर्ना गर्नुपर्ने अध्यक्ष तामाङको भनाई छ । उहाँले भन्नुभयो पर्यटनसँग जोडिएकोले परम्परागत बस्तुहरु पर्यटकलाई देखाएर जिविकोपार्जन गर्न सकिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्