दादुरा रुबेला खोप अभियान : घरघरमा निम्तो कार्ड



पुष्कर बुढाथोकी, भक्तपुर ।

देशैभर हाल सञ्चालन भइरहेको खोप अभियानलाई सफल बनाउन सुर्यबिनायक नगरपालिकाले सरोकारवालासँग अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरउपप्रमुख जुना बस्नेतले दादुरा रुबेला खोप अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधि,सम्पुर्ण बिद्यालय ,संचारकर्मी,नगरप्रहरी समुदाय लगायत सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।उहाँले इँटा भट्टा, श्रमिक क्षेत्र लगायत पहुँचबाट टाढा रहेका बस्तीका बालबालिका नछुटुन् भन्ने तर्फ चानाखो बन्नुपर्ने बताउनुभयो । यो अभियानमा दादुर—रुवेलाको खोप लगाउने र पूर्ण खोप लगाउन बाँकी रहेकाको पहिचान गरि सबैलाई पूर्ण खोप लगाउन अभिप्रेरित गरिने उहाँको भनाई थियो ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख एवं वरिष्ट जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पूर्ण खोप सुनिश्चित घोषणा भईसकेको भक्तपुरमा आब२०७५/०७६ मा भएको जिल्लाको तथ्यांक अनुसार ८८ प्रतिशत बालवालिकाले खोप लगाए पनि ७४ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएको बताउनुभयो । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन र सबैलाई पुर्ण खोपको सुनिश्चित गराउन स्वास्थ्य स्वयं सेविकालाई सकृय बनाउन र माइकिङलाई जोड दिनुपर्ने बताउनुभयो ।स्वास्थ्य कार्यालयका खोप अधिकृत नारायण केसीले खोप लगाएपछि बालबालिकामा कुनै समस्या आएमा तत्कालै उपचारको व्यबस्था समेत गरिएको जानकारी दिदै खोपबाट कुनै असर नगर्ने बताउनुभयो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाईंले नगरपालिकाभित्रका ८ हजार ६ सय ५२ बालबालिका लक्षित संख्या रहेको जानकारी दिंदै महिला स्वास्थ्य स्वयम् सेबिका तथा स्वयम सेवक मार्फत ९ महिनादेखि ५ बर्षका बालबालिका भएको घरघरमा गई निम्तो कार्ड बितरण गरिएको बताउनुभयो । ‘पूर्ण खोप लगाऔँ, बालबालिकालाई रोगहरूबाट सुरक्षित गराऔँ, नियमित खोप कुनै पनि नछुटाऔँ’ भन्ने नारासहित अन्य खोपको फाइदा समेटिएको जनचेतनामूलक कार्ड घर–घरमा पुगेर वितरण गर्ने काम भइरहेको चापागाईंले बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख चापागाईंले स्थानीय वडा खोप समन्वय समिति र सरोकारवालाको निर्णयको आधारमा सबैलाई पायक पर्ने गरी नगरका बिभिन्न स्थानमा ७२ खोप केन्द्र निर्धारण गरिएको बताउनुभयो ।बालबालिकाले लगाउने सात प्रकारको खोप लगाएर पुरा गर्नेलाई पुर्ण खोप लगाउनेको संख्यामा राख्ने गरिन्छ ।नेपाल सरकारले सन् २०२३ भित्रमा नेपाललाई दादुरा रुवेला मुक्त गरिने अभियानमा जुटेको छ ।यही अभियान अन्तर्गत चैत ३ गतेदेखि ११ गतेसम्म भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका ९ महिनादेखि ५ वर्षसम्मका बालवालिकालाई निःशुल्क दादुरा—रुवेला खोप लगाउन लागिएको हो ।

भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । जसका लागि चार समूहमा स्वयंसेवक परिचालन गरिनेछ । यसका लागि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायकमा गरि चारवटा नगरपालिकामा १९८ वटा खोप केन्द्र रहनेछ । प्रत्येक वडामा कम्तीमा ९ वटा खोप केन्द्र संचालन हुनेछ भने प्रत्येक खोप केन्द्रमा कम्तिमा एक खोप कार्यकर्ता र २ जनाका दरले स्वंयंसेविका परिचालन हुनेछन् ।यसका लागि ३९६ जना स्वयंसेवक र ७१ जना खोप कार्यकर्ता परिचालन हुने स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । सरकारले सन् २०२३ सम्ममा अभियानले दादुरा रुवेला खोप कभरेज ९५ प्रतिशतभन्दा बढी पु¥याई दादुरा रुवेला निवारण गर्ने उद्देश्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्