उपचार अभावले श्रवण कुमार थुनिन बाध्य



कृष्णउदास खनाल, हेटौंडा ।

 

आफू १८ वर्षको हुँदा ज्ञानी श्रेष्ठले आफूभन्दा २२ वर्ष जेठो व्यक्तिलाई मन पाराइन् । उनले मन पराएको व्यक्तिको पहिला नै चार छोरी थिए तर श्रीमती बितिसकेकी थिइन् । त्यही पीडा देखेर माइतमा आइरहने उनै व्यक्तिसँग आँखा चिम्लिएर विवाह गरिन् ।

 

परिवारले नदिएपछि भागेर विवाह गरिन् र हेटौंडा आएर बस्न थालिन् । श्रीमानसँगै हेटौंडा आएकी ज्ञानी श्रेष्ठ अहिले चौकी टोलमा बस्छिन् । श्रीमानले बनाइदिएको घरमा उनी, उनका २६ वर्षीय छोरा र २३ वर्षीया छोरी पनि बस्छिन् ।

 

नेपाली भाषा पनि राम्रोसंग बोल्न समस्या हुने ज्ञानीका २६ बर्षीय छोरा भने बोल्दैनन् मात्रै नभई घरमा नै नजरबन्दको अवस्थामा छन् । ज्ञानीका श्रीमान् ज्ञानीलाई छाडेर परलोक गएको पनि चार वर्ष भइसकेको छ ।

 

क्यान्सरले उनका पतिको ज्यान लिएपछि छोरा र छोरीको मुहार हेर्दै बसेकी ज्ञानीको दैनिकी अहिले कष्टकर छ । बुढेशकालमा सहारा देला भन्ने छोरा श्रवण कुमारको देखरेखमा नै उनको दैनिकी बित्ने गरेको छ ।

 

२६ वर्षीय श्रवण कुमार मुख बोल्दैनन् । ६ वर्ष पूरा भएपछि श्रवणमा समस्या देखिएको थियो । अहिले दिनभर एउटा कोठामा उनलाई थुनेर राखिन्छ ।

 

आमा दिनभर उनको स्याहारमा खटिन्छिन् अनि छोरी कसैको पसलमा गएर काम गर्छिन् । छोरीले कमाएको भरमा यो परिवारको अँगेनोमा चुल्हो बलेको छ । छोरी अर्काको घरमा गएपछि के गर्ने भन्ने कुरामा ज्ञानीलाई अत्तोपत्तो छैन । ज्ञानीको नाउ मात्रै ज्ञानी नभई स्वभाव पनि उस्तै छ । छोराको उपचार उनका पतिले जति गरे गरे, उनले खासै केही गरेकी छैनन् ।

 

उपचार गर्न त मन थियो उनलाई तर खर्च अभावका कारण उपचारमा समस्या छ । स्थानीय जनप्रतिनिधि वा कसैले आफ्नो छोराको उपचारका लागि चासो दिए आफ्नो छोराले पुनजृन्म पाउने आशमा ज्ञानी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्