‘मुन्दुम’ प्रकाशित



न्युज अफ नेपाल,काठमाडौँ ।

 

नेपाल प्रज्ञा–प्रतिष्ठानको नवीनतम् प्रकाशनका रूपमा ‘मुन्दुम’ प्रकाशित भएको छ । ‘मुन्दुम’ किरात राई जातिमा अकाल मृत्यु भएकालाई सदाका लागि बाटो लगाउने ठुलो चिन्ता गर्दा गायन गरिने रिसिया अर्थात् श्लोक हो ।

 

मुन्दुम अन्वेषक तथा सङ्कलक भोगीराज चाम्लिङद्वारा सङ्कलित तथा सम्पादित किरात राई जातिको मौखिक ज्ञान मानिने तर हाल लोपोन्मुख अवस्था पुगिसकेको ‘मुन्दुम’लाई पुस्तकका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा साहित्य विभागको लघुपरियोजना अन्तर्गत तयार पारी प्रकाशनमा ल्याइएको हो ।

 

१८४ पृष्ठको उक्त ग्रन्थमा मुन्दुम र मृत्यु संस्कार, मृत्यु संस्कारः विधि र प्रक्रिया, धामी र वेइटुङबिचको संवाद, मुन्दुम रिसिया अर्थात् श्लोक चाम्लिङ नेपाली भाषाबाट नेपाली भाषामा लिप्यान्तरण गरिनुका साथै मृत्यु संस्कारमा चाहिने सामग्रीसमेतको विवरण प्रस्तुत गरिएको छ । किरात चाम्लिङ राई जातिमा परम्परादेखि चलिआएका परम्परागत जातीय संस्कार र संस्कृतिबारे चासो राख्ने सबैका लागि ग्रन्थ उपयोगी बन्ने देखिन्छ । रु। २२० मूल्य रहेको ग्रन्थ प्रज्ञा भवनको विक्री कक्षमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्