त्रासमा परीक्षा



विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको अवस्थामा लाखौं विद्यार्थीको भविष्यसंँग जोडिएको एसईई परीक्षाको कार्यतालिका सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठनले हालसम्म १ सय २४ देशमा कोरोना भित्रिसकेको उल्लेख गरेको र सार्क क्षेत्रका मुलुकमा पनि यसको असर देखिइसकेको अवस्थामा खेलाची गर्ने ठाउँ छैन। यस्तै अवस्थालाई ख्याल गरेर डब्ल्यूएचओले विश्वभरका विद्यालय, उद्योग कल–कारखानालगायत भीडभाड हुने स्थानमा आवत–जावत बन्द गर्न र सबै जनतालाई सावधानी अपनाउन निर्देशन दिइसकेको छ। तर, हामी भने परीक्षा तालिका सार्वजनिक गरेर बसेका छौं।
यही चैत ५ गतेदेखि सञ्चालन हुने एसईई परीक्षामा स्वास्थ्य डेक्स राख्ने कुरो त गरिएको छ, तर त्यसलाई पर्याप्त मान्न सकिन्न। उता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेसम्म सबै प्रकारका परीक्षा सकेर बिदा दिन निर्देशन दिइसकेको छ। तर, विद्यालयदेखि विश्वविद्यालय तहसम्मको परीक्षामा सहभागी विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरको विषयमा सोचेको पाइँदैन। सबै निकायले परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेका छन्। यस्तो विषम परिस्थितिमा परीक्षामा सहभागी विद्यार्थीलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउने विषयमा ध्यान दिएको पाइँदैन। हुन त राष्ट्रिय परीक्षा बोर्डले सबै परीक्षा केन्द्रमा सहभागी विद्यार्थीलाई ज्वरो परीक्षण गरेर मात्र परीक्षा केन्द्रमा पठाउने विषयमा सरकारसँग छलफल गरिरहेको छ। करिब ५ लाख विद्यार्थी सहभागी हुने एसईईलाई कोरोना भाइरसले मनोवैज्ञानिकरूपमा पनि प्रभावित बनाउने अवस्था छ। विद्यालय तहको परीक्षा सकेर बिदा दिने तयारी गरेको सरकारले अहिलेको परिस्थितिमा एसईई परीक्षामा पर्न सक्ने असरबारे सूक्ष्म अध्ययन गर्नु आवश्यक छ। १ हजार ९ सय परीक्षा केन्द्रमा सहभागी विद्यार्थीलाई मनोवैज्ञानिक प्रेरणा प्रदान गर्नु र परीक्षाका लागि तयार राख्नु सहज छैन।
निजी विद्यालयको संगठन प्याब्सन र एनप्याब्सनले सावधानी अपनाएर मात्रै परीक्षा केन्द्रमा प्रवेश गराउने व्यवस्था मिलाइसकेको छ। अभिभावक महासंघले त तत्काल विद्यालय बन्द गरेर पछि परीक्षा गर्न सरकारलाई सुझाव दिइसकेको छ। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषय अर्को गम्भीर पक्ष छ। जनशक्ति अभाव देखाउँदै पन्छिन खोजेको सरकारले निजी अस्पताल र स्वास्थ्य केन्द्रसँंग समन्वय गरेर स्वास्थ्यकर्मी परिचालन गर्न सकेको छैन। यदि नेपालमा कोरोना संक्रमण देखिन थाले रोक्न सक्ने अवस्था छैन। त्यसका लागि सरकारले खासै तयारी गरेको देखिँदैन, र स्वास्थ्य मन्त्रालयले त कोरोनाको संक्रमण देखिए सेल्फ क्वारेन्टाइमा बस्ने भनिसकेको छ। त्यसैले लाखौं विद्यार्थीको सहभागिता हुने परीक्षामा कसरी तयारी गर्ने भन्ने विषयमा सोच्न आवश्यक भइसकेको छ। परीक्षामा सहभागी भएका विद्यार्थीलाई कोरोनाबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा गम्भीर ध्यान दिनु आवश्यक छ। परीक्षार्थीबाहेक सुरक्षाकर्मीसहित करिब ६० हजार जनशक्ति परिचालन हुने एसईईमा सबैको स्वास्थ्य परीक्षण गर्ने विषयमा सरकारले सोच्नुपर्छ। परीक्षा स्थगन एक विकल्प हो भने, अर्को विकल्पका रूपमा स्वास्थ्य सुरक्षाको पूर्वाधार हुन आउँछ। समयमै यस पक्षमा ध्यान दिइयोस् ⁄

 

प्रतिक्रिया दिनुहोस्