परनिर्भरता क्रमशः अन्त्य गर



मुलुक अहिले विप्रेषणकै भरमा चलेको छ। मुलुकमा सियो उत्पादन हँुदैन। केही उत्पादन नभएपछि मुलुकले निर्यात गर्न सकेको छैन। यसको बदलामा नेपालले दाल, चामल, तरकारी पनि आयात गर्नुपरेको छ। कुनै समय कृषिप्रधान देशका रूपमा चिनिने मुलुक अहिले आयातकर्ताका रूपमा चिनिन थालेको छ। यो समाचार पक्कै पनि राम्रो होइन। राजनीतिक दलहरूले अनेकौं शब्दजाल कथेर भाषण गर्छन् र सत्तामा जान्छन्। तर, उनीहरूले मुलुकलाई आत्मनिर्भरतिर नभएर परनिर्भर बनाउनेतर्फ हाँकिरहेका छन्। यो अत्यन्तै दुःखको कुरा हो। राज्य सञ्चालन तहमा पुग्ने नेताहरूले देश र जनताका लागि कहिल्यै सोचेनन्, बरु कसरी सत्ता हत्याउने र कसरी कमाउने ? भन्ने क्षेत्रमा मात्र ध्यान दिँदा यस्तो भएको हो।
विप्रेषणलाई अहिले विलासिता र घर–जग्गामा मात्र लगानी गरिएको देखिन्छ। पहाडी भेगमा जो–कोही पुगेर हेर्ने होे भने सबै स्पष्ट हुन्छ। जस्तै– अहिले पहाडी भेगका हरेक घरमा मोटरसाइकल देखिन्छ, हरेकको हातमा ५० हजार रुपियाँ पर्ने आइफोन बोकेर हिँडेको देखिन्छ। यहाँ त्यसो गर्न पाइँदैन भन्न खोजिएको नभएर उक्त रकम उत्पादनशील काममा लगाएको भए यसले मुलुक आत्मनिर्भरतिर धकेल्थ्यो भन्न खोजिएको हो।
पेट्रोलियम पदार्थ आयात गर्न खाडी मुलुकमा पसिनासँग साटेर भित्रिएको विप्रेषण फेरि खाडी मुलुक नै पुग्छ। यस्तो जान्दाजान्दै सरकारले कुनै योजना, नीति ल्याउँदैन। विप्रेषणलाई विलासितामा नभई उत्पादनशीलतामा उपयोग गर्न अब नागरिक तहमै चेतना ल्याउनु जरुरी छ। सरकारले अब आयात नभएर निर्यात बढाउनेतर्फ नयाँ योजना ल्याउनै पर्छ। दुई छाक खानका लागि हरेक नागरिकले विदेश जान नपरोस् भन्ने सोचाइका साथ अब सरकारले प्रभावकारी पाइला चाल्नुपर्छ। परनिर्भरता क्रमशः अन्त्य गर्ने योजना ल्याउनै पर्छ।
– मनोज श्रेष्ठ, भक्तपुर।

यसरी समृद्ध बन्न सक्छ बाग्मती प्रदेश
नेपालकै केन्द्रीय राजधानीसमेत पर्ने बाग्मती प्रदेश प्राकृतिक तथा ऐतिहासिक सम्पदाले निकै धनी मानिन्छ। यस प्रदेशमा हिमालदेखि तराईसम्मका १३ वटा जिल्ला छन्। यो प्रदेशमामा उद्योग, कृषि र पर्यटन व्यवसाय यस प्रदेशको समृद्धिको प्रमुख आधार हो। नेपालको सबै जातजाति, वर्ग, धर्म सम्प्रदाय रहेको यस प्रदेशमा ठूला शहरहरूसमेत रहेका छन्। मुलुकका तीनवटा महानगरपालिका काठमाडौं, ललितपुर र भरतपुर यसै प्रदेशमा पर्दछन्। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं–तराई जोड्ने द्रुतमार्ग र काठमाडौं–हेटौंडा सुरुङमार्ग रहेको यो प्रदेशमा मुलुककै एकमात्रै विमानस्थल त्रिभुवन अन्तर्राट्रिय विमानस्थल पनि अवस्थित छ। चीनसँग सिमाना जोडिएका तातोपानी र रसुवागढी नाका यही प्रदेशमा छ।
बाग्मती प्रदेशमा बालाजु, पाटन, भक्तपुर, हेटौंडा औद्योगिक क्षेत्र पर्दछन् भने चितवनको शक्तिखोरमा मुलुककै सबैभन्दा ठूलो २ हजार बिघा क्षेत्रफलको औद्योगिक क्षेत्र निर्माणको काम शुरू भएको छ। १२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको यस प्रदेशका जनताको वार्षिक प्रतिव्यक्ति आम्दानी १ हजार ३ सय ५७ डलर छ। कृषि तथा पशुपालनका लागि उत्कृष्ट रहेको यस प्रदेशबाट कुल गार्हस्थ्य उत्पादनमा कृषिको २६ प्रतिशत र पशुको २० प्रतिशत योगदान रहेको छ।
यो प्रदेश प्राकृतिक तथा पर्यटकीय दृष्टिकोणमा सबैभन्दा धनी प्रदेशको रूपमा रहेको चिनिन्छ। युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका १० वटा सम्पदामध्ये पशुपतिनाथ, काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, स्वयम्भुनाथ, बौद्धनाथ र चितवन राष्ट्रिय निकुञ्ज प्रदेश–३ मा पर्दछन्। त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्ज र शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जसमेत रहेको यस प्रदेशमा रसुवागढी, गोसाइँकुण्ड, गौरीशंकर, लाङटाङ हिमशृङ्खलासमेत पर्दछन्।
बाग्मती प्रदेशको १२ वटा जलविद्युत् आयोजनाबाट ६ हजार ५ सय २८ मेगावाट विद्युत् निकाल्न सकिने अनुमान गरिएको छ। यहाँका जलविद्युत् आयोजनामा कुलेखानी (पहिलो, दोस्रो र तेस्रो) बाट १ सय ६, सुनकोशी दोस्रोबाट १ हजार १ सय १०, सुनकोशीबाट ५ सय ३६, खिम्ती शिवालयबाट १ हजार, इन्द्रावतीबाट ९३, कोखाजारबाट १ सय ११, लामटाङबाट २ सय २१, तामाकोशी (पहिलो, तेस्रो र चौथो) बाट १ हजार ४ सय ५२, बूढीगण्डकीबाट १ हजार २ सय र सप्तगण्डकीबाट ७ सय मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ।
– सूदन पाण्डेय, पुलचोक, ललितपुर।

विकास एक निरन्तर प्रक्रिया हो
विकास एक निरन्तररूपमा चलिरहने घटनाक्रम हो। यो सकारात्मक ढंगले यथास्थितिभन्दा नितान्त फरक तरिकाले अगाडि बढ्छ। कतिपय विकासका क्रियाकलापहरू आफसे आफ भइरहेका हुन्छन् भने कतिपय विकासका क्रियाकलापहरू सञ्चालन गर्नुपर्दछ। विकास बहुआयामिक परिघटना भएको हुनाले मानवजीवनको कुनै एक पाटोको अवस्था परिवर्तन हुँदैमा विकास मान्न सकिँदैन।
विकास सामाजिक, आर्थिक, भौतिक, राजनीतिक, सांस्कृतिक, मानवीय, शैक्षिक, मानवअधिकार, लिभिङ स्टान्डर्ड, जीविकोपार्जन, सामाजिक सुरक्षा आदिमा पनि हुनुपर्दछ, जसले अन्ततः मानव विकास सूचकांकमा योगदान गर्दछ र हामी विकासलाई मापन गर्न सक्तछौँ। शहरी र ग्रामीण क्षेत्रका आमजनताको दैनिक जीवनमा भनौँ लिभिङ स्टान्डर्डमा परिवर्तन नआएसम्म विकासको अनुभूति गर्न सकिँदैन।
आज हामीले विश्वका विकसित राष्ट्रहरूलाई हे¥यौँ र नेपालको अवस्थालाई नियाल्यौँ भने लाग्छ– हामी कम्तीमा पनि २ शताब्दी पछाडि छौँ। विश्व आज आर्टिफिसियल इन्टेलिजेन्सले निम्त्याउन सक्ने दुर्घटनाका बारेमा अध्ययन र अनुसन्धानमा व्यस्त छ भने हामी यता बिरामी हुँदा औषधि खान नपाएर ऋण खोज्न भौँतारिइरहेका छौँ।
विश्व आज मंगल ग्रहमा बस्ती बसाल्ने सपना बुनेर त्यसलाई साकार पार्न खटिएको छ भने यता हामी दिसा गरिसकेपछि हात राम्रोसँग धुनुपर्दछ भन्ने कक्षा सञ्चालन गर्न र गैरसरकारी संस्थामार्फत जनसचेतनाका कार्यक्रम आयोजना गर्न व्यस्त भएका छौँ।
यसरी समय एकातर्फ हिँडिरहेको छ भने हामी अर्को बाटो। अनि, यी समय र आवश्यकताबीच जबसम्म भेट हुँदैन, तबसम्म विकास हुँदैन। सँगसँगै जानुपर्ने कुराहरू समानान्तर बाटोमा हिँड्दा मिलन सम्भव छैन। युरोपियन र अमेरिकन देशहरू कसरी विकसित भए भन्नेबारेमा हामी अध्ययन, अनुसन्धान गर्दैनौँ, बरु उनीहरूबाट पनि तिरस्कृत भइसकेका संस्कृतिहरूको सिको गर्नतिर लाग्छौँ।
– विनय बराल, अर्घाखाँची।

 

 

प्रतिक्रिया दिनुहोस्