जंगल छिचोलेर जमिनमा झरेको घाम इन्द्रबहादुर

‘इन्द्राख्यान’ र ‘त्रिफला’ लोकार्पण



यदुप्रसाद भट्ट

 

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नेपाली वाङ्मयका विशिष्ट साधक इन्द्रबहादुर राईको दोस्रो स्मृति दिवस एक कार्यक्रमको आयोजना गरी मनाएको छ। ‘नेपाली भाषा–साहित्यमा इन्द्रबहादुर राईको योगदान’ विषयक विचार गोष्ठीको आयोजना गरी साधक राईको दोस्रो स्मृति दिवस मनाइएको हो।

 

उक्त अवसरमा डा. रत्नमणि नेपालद्वारा सम्पादित तथा देशपत राईद्वारा प्रकाशित विशिष्ट साधक राईको स्मृतिग्रन्थ ‘इन्द्राख्यान’ को लोकार्पणसमेत गरिएको थियो।

 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र पूर्वकुलपति एवं कार्यक्रमका सभापति बैरागी काइँलाले उक्त स्मृतिग्रन्थको लोकार्पण गर्नुभएको हो। उक्त अवसरमा इन्द्रबहादुर राई विशेषाङ्क ‘त्रिफला’ पत्रिकाको समेत लोकार्पण गरिएको थियो।

 

कार्यक्रममा बोल्दै राईका साहित्यिक सहयात्री एवं तेस्रो आयामका एक अभियन्तासमेत रहेका काइँलाले राई नेपाली भाषा–साहित्यका विशिष्ट साधक भएको उल्लेख गर्नुभयो।

 

उहाँले तीक्ष्ण दृष्टिकोणबाट हरेक सवालमा चिन्तन मनन र सिर्जना गर्ने विशिष्ट कलाले पूर्ण साधक राईले अनेक थोकमा प्रयोगशीलता देखाएको दाबी गर्नुभयो। काइँलाले भन्नुभयो– ‘पूर्वीय दर्शनलाई आधार मानेर आईबी राईले लीलालेखन गर्नुभयो।

 

साहित्यलाई नवीन कोणबाट सैद्धान्तिकीकरण गर्नुभयो। सिर्जनाका साथै समालोचनाका क्षेत्रमा पनि नवीन पद्धति अपनाउनुभयो। यत्तिको साधक नेपाली साहित्यमा अरू छैनन्।’

 

कुलपति गंगाप्रसाद उप्रेतीले इन्द्रबहादुर राई नेपाली भाषा–साहित्यका शिखर साधक भएको उल्लेख गर्दै राईको विचार, सिद्धान्त र दर्शनलाई समग्रतामा बुझ्नका लागि उहाँका सिर्जनाहरूमा पस्नुपर्ने बताउनुभयो।

 

कुलपति उप्रेतीले भन्नुभयो– ‘हामीले विश्व साहित्यमा गर्वका साथ देखाउने स्रष्टा इन्द्रबहादुर राईबाहेक अर्को छैन।’ उहाँले डा. रत्नमणि नेपालद्वारा सम्पादित स्मृतिग्रन्थ ‘इन्द्राख्यान’ नेपालका तर्फबाट राईप्रति अर्पण गरिएको श्रद्धाको फूल भएको विचार व्यक्त गर्नुभयो।

 

उपकुलपति डा. जगमान गुरुङले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै दार्जिलिङमा जन्मिएका स्रष्टा इन्द्रबहादुर राई नेपाली भाषा–साहित्यका महारथि भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘यस्ता महारथिको योगदानको हामीले उच्च कदर गर्नुपर्छ।’

 

प्राडा अभि सुवेदीले तेस्रो आयाम तथा लीलालेखनमार्फत राईले नेपाली साहित्यमा उच्चतम प्रयोग गरेको बताउनुभयो। उहाँले बहुलताका पक्षधर राई आधुनिक चेतनाका विशिष्ट स्रष्टा भएको जिकिर गर्नुभयो।

 

प्राडा गोविन्दराज भट्टराईले कार्यक्रममा इन्द्रबहादुर राईमाथि गोष्ठीपत्र प्रस्तुत गर्दै स्रष्टा राईलाई जंगल छिचोलेर जमिनमा झरेको घामको संज्ञा दिनुभयो। उहाँले भन्नुभयो– ‘इन्द्रबहादुर राई नेपाली वाङ्मय जगत्का सर्वाधिक उचाइ भएका स्रष्टा हुनुहुन्थ्यो।’

 

कार्यक्रममा कृष्ण धरावासीले राई सहनशील लेखनको पक्षमा रहेको स्रष्टा भएको बताउनुभयो। उहाँले सुनाउनुभयो– ‘इन्द्रबहादुर राईले अब मानवइतरको पक्षमा पनि स्रष्टाले कलम चलाउनुपर्छ भन्ने विचार व्यक्त गर्ने गर्नुहुन्थ्यो।’

 

कार्यक्रममा डा. बिन्दु शर्माले प्राडा भट्टराईद्वारा प्रस्तुत गोष्ठीपत्रमाथि टिप्पणी गर्नुभएको थियो। ‘गोष्ठीपत्र प्रस्तोता प्राडा भट्टराई साहित्यमा राजनीति हावी हुनुहुन्न भने तापनि इन्द्रबहादुर राईको लीलालेखन आफैंमा ठूलो राजनीति थियो’, टिप्पणीका क्रममा डा. शर्माले भन्नुभयो– ‘लीलालेखनले सबै विचारलाई समेट्दैन। यसभित्र आफैंमा विरोधाभाष पाइन्छ।’

 

उहाँले सबै लेखक स्वाभावैले प्रगतिशील हुन्छन् भन्ने प्राडा भट्टराईको खण्डन गर्दै भन्नुभयो– ‘प्रगतिशील हुनु भनेको समाजप्रति उत्तरदायी हुनु हो तर सबै लेखक समाजप्रति उत्तरदायी भएको पाइँदैन।’

 

कार्यक्रममा ज्ञानु अधिकारीले स्मृतिग्रन्थ ‘इन्द्राख्यान’ माथि समीक्षा प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा उहाँले स्मृतिग्रन्थ ‘इन्द्राआख्यान’ सर्वसाधारण पाठकको पहुँचमा पुग्नुपर्नेमा जोड दिनुभयो।

 

स्मृतिग्रन्थ ‘इन्द्राख्यान’ का सम्पादक डा. नेपालले ग्रन्थ सम्पादन गर्दाको अनुभव व्यक्त गर्नुभएको थियो। उक्त स्मृतिग्रन्थको दोस्रो संस्कण पैरवी प्रकाशनले बजारमा ल्याउने सहमति भएको सम्पादक नेपालले जानकारी गराउनुभयो।

 

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानकी आख्यान विभाग प्रमुख प्राज्ञ माया ठकुरीले इन्द्रबहादुर राईले नेपाली आख्यान साहित्यका क्षेत्रमा दिनुभएको विशिष्ट योगदानको चर्चा गर्दै सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

 

कार्यक्रम पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे, प्राज्ञपरिषद् सदस्यहरू, प्राज्ञसभा सदस्यहरू, आजीवन सदस्यहरूका साथै पूर्वप्राज्ञपरिषद् सदस्यद्वय प्राडा ज्ञानु पाण्डे र श्रवण मुकारुङलगायतका स्रष्टा सर्जकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण रवीन्द्र तिमसेनाले गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्