नारायणहिटी अबलोकन शुल्क शतप्रतिशत वृद्धि



काठमाडौं, (नेस) ।
नारायणहिटी दरबार संग्रहालय अवलोकन शुल्क ११ वर्षपछि शतप्रतिशत वृद्धि भएको छ।
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी शुल्क वृद्धि गरेको हो।
समितिले गणतन्त्र स्मारक, राजा वीरेन्द्रको निजी निवास श्रीसदन र संग्रहालयको अवलोकन गर्न पाउने गरी शुल्क वृद्धि गरेको जनाएको छ। समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले नारायणहिटी संग्रहालयसहित तीन स्थानको अवलोकन गर्न र संग्रहालयलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न शुल्क वृद्धि गरेको स्पष्ट पार्नुभयो।
समितिको फागुन १९ गतेको बैठकले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो। समितिको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव अध्यक्ष हुने व्यवस्था छ। समितिका कार्यकारी निर्देशक दाहालले संग्रहालयमा थप सामग्री राख्ने गरी शुल्क वृद्धि गरेको बताउनुभयो।
समितिले चैत १ देखि ३० गतेसम्म निःशुल्क अवलोकन गर्न मिल्ने गरी गणतन्त्र स्मारक खुला गर्न लागेको छ।
तर ९ वर्षभन्दा मुनिका विद्यार्थी र ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। विद्यार्थीलाई ५०, नेपाली नागरिकलाई २ सय, सार्क र चिनियाँ मुलुकका पर्यटकलाई ५ सय र अन्य मुलुकका पर्यटकलाई १ हजार रुपियाँ तोकिएको छ।
यसअघि विद्यार्थीलाई २०, नेपालीलाई १ सय, सार्क र चिनियाँ पर्यटकलाई २ सय ५० र अन्य मुलुकका पर्यटकलाई ५ सय रुपियाँ तोकिएको थियो। संग्रहालयमा राजा वीरेन्द्र परिवारले चढ्दै आएको हेलिकोप्टर र हवाईजहाज प्रदर्शनीमा राख्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्