रोकियो ७ सय जनाको शान्ति टोली



दीपक रिजाल, काठमाडौं ।

कोरेना भाइसरको संक्रमणका कारण राष्ट्रसंघको आह्वानमा युद्धग्रस्त मुलुक सुडानमा तैनाथ हुन जान लागेको नेपाली सेनाको ७ सय जनाको टोली अनिश्चित कालका लागि रोकिएको छ।

चीनको उहान शहरबाट फैलिएको उक्त प्राणघातक भाइरसका कारण विश्वलाई नै तरंगित पारिरहेका बेला राष्ट्रसंघको मुख्यालयले सुडान जाने अन्तिम तयारीमा रहेको नेपाली सेनाको टोलीलाई हाल स्थगित गर्न निर्देशन दिएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘कोरोना भाइरसको आतंकको कारण राष्ट्रसंघको मुख्यालयले केही समयका लागि उडान रोक्न निर्देशन दिएपछि टोली रोकिएको हो।’ ‘यूएनले केही समयका लागि उडान रोक्न निर्देशन दिएको र उताबाट जाने आदेश आउनासाथ हामी टोलीलाई मुभ गराउँछांै।’ –प्रवक्ता पाण्डेले भन्नुभयो।

सुडानमा हाल कार्यरत नेपाली सेनाको देवीदत्त गणलाई बदली गर्न कालिध्वज गण त्यसतर्फ जाने तयारीमा थियो। उक्त गणमा गणपतिसहित ७ सय सैनिक तयारी अवस्था रहेका थिए। आइतबार नै सुडान जानुपर्ने टोली रोकिएपछि तयारी अवस्थामा रहेका शान्ति सैनिकहरू अहिले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा नै रहेका छन्।

उनीहरूको उडान निश्चित नभएसम्म सुडान जाने तयारीमा रहेको टोली उक्त केन्द्रमा नै तैनाथ हुने भएको छ। विभिन्न युद्धग्रस्त मुलुकमा शान्ति सैनिक पठाउने मुलुकको सूचीमा चौथो नम्बरमा रहेको छ।

द्वन्द्वग्रस्त मुलुकमा १ सय २२ देशले आफ्ना सैनिकलाई शान्ति सैनिकका रूपमा खटाउँदै आएको छ।हाल नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी विभिन्न द्वन्द्वग्रस्त मुलुकमा ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मी तैनाथ रहेका छन्।सन् १९५८ बाट नेपालले शान्ति सेनाका रूपमा सहभागिता जनाएयता हालसम्म १ लाख ३० हजारभन्दा बढी नेपाली सेनाले शान्ति सैनिकका रूपमा काम गरिसकेको सैनिक मुख्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्