आठ महिनामा दुई हजार ६७ रक्तदाता



सिताराम अधिकारी, धादिङ ।

काठमाण्डौमा रगतको अभाव भइरहेको समयमा धादिङमा आठ महिनाको समयमा २ हजार ६७ जनाले रक्तदान गरेको छ । नेपाल रेडक्रस सोसाइटी धादिङ अन्तरगत रहेको रक्तसंचार सेवा केन्द्रले दिएको जानाकारी अनुसार जिल्लामा यस वर्ष उत्साही रक्तदाताहरु रहेको र काठमाण्डौमा भइरहेको रगतको कमीलाई पुरा गरिरहेको छ ।

०७६ साउन देखि फागुनसम्मको अवधीमा ६ सय ३ जना महिला र १ हजार ४ सय ६४ पुरुष गरि २ हजार ६७ जनाले रक्तदान गरेको रक्तसंचार सेवा केन्द्रका नारायणकुमार श्रेष्ठले जानाकारी दिनुभएको छ । धादिङ जिल्लामा हालसम्मकै रक्तदाता स्वयंसेवी स्वतः स्फूर्त रुपमा रक्तदान गरेको यो धेरै संख्याको रेकर्ड हो ।

हालका दिनमा महामारीको रुपमा रहेको कोरोना भाइरतसको आतंकले रोग नदेखिएपनि काठमाण्डौमा रक्तदाता घटेको छ । यहि समयमा समेत धादिङमा दिन दिनै जसो रगत संकलन भइरहेकोले जिल्लामा उत्साही रक्तदाता रहेको देखिन्छ ।

आठ महिनाको अवधीमा ३३ ओटा सघसंस्थाले रक्तदानको आयोजना गरिरहेका छन् । रगतको अभाव कम गरि स्वयंसेवी रक्तदाताहरुको संख्यामा वृद्धि गरि आकस्मिक रुपमा समेत रगत दान गर्नेहरु समेत बढ्दै गएको पाइएको छ ।

विभिन्न संस्थाहरुले स्थापना दिवस, जन्म दिन लगायतका पर्वहरुमा रक्तदान गर्ने परम्परा नै बसेको स्वयंसेवी रक्तदाता किरण श्रेष्ठले बताउनुभएको छ ।

यसैगरि आज धादिङबेसी हिमाल बचत तथा ऋण सहकारी संस्थाले गरेको रक्तदान कार्यक्रममा २० जना महिला ४७ जना पुरुष गरि ६७ जनाले रक्तदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्