डब्लुएचओले विश्वव्यापी महामारी घोषणा गरेपछि कोरोना भाइरसविरुद्ध यस्तो छ सरकारको तयारी



भगवती तिमल्सिना,काठमाडौं

कोरोना भाईरस (कोभिड १९) लाई विश्व स्वास्थ्य संगठनले मार्च ११ मा विश्वव्यापी महामारीको रुपमा बर्गीकरण गरेको छ । विश्व स्वास्थ्य संगठनको बर्गीकरणसँगै नेपाल सरकारले कोरोना भाइरसबाट बढी प्रभावित ९ देशबाट आउने नेपाली तथा विदेशी नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइन अनिवार्य गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना संक्रमण फैलिन नदिने सरकारको तयारीबारे जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार चीन, दक्षिण कोरिया, जापान, इरान, इटली, स्पेन, फ्रान्स र जर्मनीबाट आउने व्यक्तिले अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ । साथै यी मुलुकबाट आउन चाहने विदेशी नागरिकलाई अन एराइबल भिसा स्थगन गरिएको पनि स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

१२ मार्चको मध्यान्ह सम्ममा १ सय १४ मुलुकमा कोरोना भाईरस फैलिएको र १ लाख १८ हजार ३ सय २६ जनामा संक्रमण भैसकेको र ४ हजार ६ सय ३५ को मृत्यु भैसकेको जानकारी गराईयो । संक्रमित बिरामीहरु मध्ये ९० प्रतिशत चीन, दक्षिण कोरिया, ०टली र इरानका नागरिक रहेका छन् । पछिल्लो समय चीन र दक्षिण कोरियामा संक्रमितको संख्या घटेको सन्देशले रोगलाई नियन्त्रण गर्न सकिने सकारात्मक सन्देशका रुपमा नेपालले पनि लिएको मन्त्रालयका प्रवक्ताले जानकारी गराउनुभयो ।

मन्त्रालयले भाइरसको रोकथाम तथा नियन्त्रणका लागि योजना, रणनीति तथा कार्यक्रम सार्वजानिकसमेत गरेको छ । केही गरी नेपालमा कोरोना संक्रमण देखिएको अवस्थामा महामारी अवधिभर नेपालबाट हुने उडान बन्द गर्ने योजना बनाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

अहिले सम्म संक्रमित मध्ये ८९ प्रतिशत सामान्य अवस्थामा रहेका छन् भने गम्भीर अवस्थामा ११ प्रतिशत रहेका छन् । पुरानो केशमा ९४ प्रतिशत निको भएका र ६ प्रतिशतको मृत्यु भएको अवस्था रहेको थियो । कोभिड १९ को जोखिम भएका मुलुकबाट नेपाल आउने यात्रुहरुलाई रोग नभएको प्रमाणित कागजात लिएर आउने प्रावधान अनिवार्य गरिएको छ ।

नेपालमा हाल सम्म ४ सय ५० जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गरिएको छ । पछिल्लो समय ४ जना टेकू र २ जनालाई पाटन अस्पतालमा आइसोलेसनमा राखिएको जानकारी गराईयो ।

सरकारले गरेको तयारी यसप्रकार रहेको छ :

–शंकास्पद बिरामीलाई जाँच गर्न पहिलो पंक्तिमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नेपाल ए.पी.एफ. अस्पताललाई छुट्टै कक्षको व्यवस्था गरिएको छ भने अन्य असपतालहरुको पनि सूचिकरण गरिसकिएको जनाएको छ ।

– मेडिकल हब तथा स्याटलाइट अस्पतालहरूमा आइसोलेसन वार्डको व्यवस्था,

– प्रादेशिक अस्पतालहरूबाट आइसोलेसन वार्ड र सघन उपचार कक्षको तथ्यांक अध्यावधिक,

– बिरामीको प्रभावकारी व्यवस्थापन गर्न इन्सिडेन्ट कमान्ड सिस्टम तयारी अवस्थामा,

– आवश्यकताअनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइनस्थल यथावत,

– उच्च संक्रमित देशहरूबाट आउने नेपालीका साथै नेपालमा विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक चेकजाँच गरी होम क्वारेन्टाइनमा रहन निर्देशन तथा अनुगमन,

– भारत र चीनसँग जोडिएका सीमावर्ती प्रवेश नाकाहरूमा ४३ वटा हेल्थ डेस्क, आपत्कालीन अवस्थामा क्वारेन्टाइन गर्न आवश्यक पर्ने स्थान र संरचनाहरूको योजना,

– विदेशस्थित कूटनीतिक नियोग तथा दूतावासमार्फत त्यहाँ रहेका नेपालीलाई लक्षित गरी स्वास्थ्य सचेतनासम्बन्धी सूचनाप्रवाह,

– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दैनिक रूपमा जनहितका सूचनासहितको स्वास्थ्य बुलेटिन सार्वजनिक, रोकथाम र नियन्त्रणको प्रयास जारी राख्ने ।

कोभिड १९ को संक्रमणको निगरानी, रोकथाम र नियन्त्रणका लागि १८ जना सर्भिलेन्स अफिसर खटाउने तयारी भएको र देशव्यापी रुपमा सचेतना जारी ।
आइसोलेसनवार्ड, औषधि, बेड, उकिरण, जनशक्ति अनुमानित रुपमा योजना बनाएको ।

प्रतिक्रिया दिनुहोस्