नेपाल भाषा समाचार नहटाउन आग्रह



न्युज अफ नेपाल, काठमाडौं । 

नेपाल भाषाको समाचार बुलेटिन हटाउने इमेज च्यानल टेलिभिजनको निर्णयप्रति पुनःविचार गर्न नेवाः पत्रकार राष्ट्रिय दबूले आग्रह गरेको छ ।

पत्रकार राष्ट्रिय दबूले विहीबार एक विज्ञप्ती प्रकाशित गरी सो आग्रह गरेको हो । टेलिभिजनले यही चैत्र १ देखि लागू हुने गरी हरेक दिन राति १०ः १५ बजे प्रसारण भइरहेको समाचार बुलेटिन हटाउने निर्णय गरेको थियो ।

सो टेलिभिजनले स्थापनाकालदेखि हरेक दिन बिहान र राति नेपाल भाषाको समाचार बुलेटिन प्रसारण गर्दै आइरहेको छ । विभिन्न राष्ट्रभाषामा समाचार बुलेटिन प्रसारण गरेर समावेशीका दृष्टिले मुलुककै उदाहरणीय टेलिभिजन हुनेतर्फ सोच परिलक्षित गर्नुपर्नेमा उल्टै नेपालभाषाको समाचार बुलेटिन बन्द गर्ने निर्णय गर्नु सर्वथा अनपेक्षित कार्य रहेको विज्ञप्तीमा भनिएको छ ।

‘यस कार्यले सम्बन्धित भाषाको ठूलो हिस्सामा रहेका दर्शकहरुलाई मात्र नभई समावेशी सञ्चारका लागि क्रियाशील सबैलाई गम्भीर बनाएकोे छ । ’ महासचिव सुनील महर्जनद्वारा जारी सो विज्ञप्तीमा भनिएको छ ।

नेपालको संविधानले पनि नेपालमा बोलिने सबै भाषा राष्ट्रभाषा हुन् भनेर स्वीकार गरेको अवस्थामा मातृभाषाको पत्रकारितालाई प्रर्वद्धन गर्र्नु सञ्चार क्षेत्रको दायित्व रहेको उल्लेख गर्दै सो निर्णय तत्काल सच्याउन पत्रकार राष्ट्रिय दबूले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्