बुढो राजपथलाई गुराँसको लाली : बेवास्ताले मासिँदै गुराँस



रोशन पराजुली,हेटौंडा ।

उत्तरी मकवानपुरको चिसो क्षेत्रमा राताम्य फुलेका लालीगुराँसले पर्यटकको मन लोभिएको हुन्छ । बाइरोडको नामले परिचित त्रिभुवन राजपथवरपरका जंगलमा फुलेका लालीगुराँसले बाइरोडको यात्रा गर्ने जो कोहीलाई पनि लोभ्याउनु स्वभाविक हो ।टिष्टुङका डाँडापाखादेखि नामटार झिरघारीका डाँडाहरु बेहुलीझंै राताम्य देखिन्छन् ।

त्यसैले लालीगुराँसका पारखीहरु गाडी रोक्दै तस्बीर कैद गर्नमा व्यस्त देखिन्छन् भने केहीले रुख चढेर लालीगुराँसका थुँगा ‘कोसेली’ लैजाने गर्छन् ।हेटौंडादेखि काठमाडौं जाने तथा काठमाडौंबाट हेटौंडा आउने यात्रुहरुले आफ्नो गन्तव्य त्रिभुवन राजपथलाई बनाउने गर्छन् । कारण, डाँडाभर फुलेका लालीगुराँस । विहान र बेलुका दामन, पालुङलगायत क्षेत्रमा चिसो रहेका बेला फर्केर प्रकृति उघार्न गुराँसलाई कहिलेकाहीं समय लाग्ने गर्दछ ।

लालीगुराँसकै कारण उक्त बाटो भएर यात्रा गर्नेको संख्या बढेको स्थानीय होटल व्यबसायीहरु बताउँछन् । तराई भूभागमा गर्मी चढिसकेको अबस्थामा उक्त बाटोको यात्रा नै गज्जबको हुन्छ । चुनियाँबाट उकालो लागेर नौबीसे नपुगुञ्जेल ‘प्राकृतिक एसी’ मा बसेको जस्तो अनुभूति हुने यात्रुको अनुभव छ । तर, त्यही गुराँस पछिल्लो समय बेवास्ताको शिकार बनेको छ । सरोकार राख्नेहरुले नै गुराँसको संरक्षणमा ध्यान नदिएको देखिन्छ ।

पालुङ जेसीज पूर्वअध्यक्ष गोपीकृष्ण सेञ्चुरी लालीगुराँस पारखीहरुलाई लोभ्याउनकै लागि भए पनि लालीगुराँस संरक्षणमा लाग्नुपर्ने बताउनुहुन्छ । केटाकेटीले लाथ्रा भाँच्दा र स्थानीयले इन्धनको स्रोतका रुपमा गुराँसका रुख बाल्दा गुराँस संकटमा पर्दै आएको छ । युवा सक्रियतामा त्यसो नगर्न आग्रह र २४ सै घण्टा गुराँसको निगरानी जारी राखिए पनि गुराँसका बन नासिने क्रम रोकिएको छैन ।

गुराँस पाइने मकवानपुरको सबभन्दा ठूलो करुणाभूमि र ऋषेश्वर बनमा डीपीआर तयार गरी गुराँस संरक्षणको पहल थालिने बागमती प्रदेशको पर्यटन मन्त्रालयका अधिकृत नवराज पुडासैनीले बताउनुभयो । उहाँका अनुसार दामनमा यस वर्ष गुराँस बगैंचा निर्माण गरिनेछ भने करुणाभूमि र ऋषेश्वर बनमा विशेष योजना लागु गरिनेछ ।

लालीगुराँसको संरक्षणमा जुटेका युवाले लालीगुराँस टिपेर यात्रुलाई बिक्री गर्ने कार्य रोकेका थिए । विगतका वर्षहरुमा स्कुल पढ्न नगएर ससाना बालबालिका लालीगुराँस टिपेर बिक्री गर्ने गर्थे । यो क्रम यस वर्ष पनि शुरु भएकोमा थाहानगरका मेयर लवशेर बिष्टले दुःख व्यक्त गर्नुभयो ।पछिल्लो समय लालीगुराँसको संरक्षणमा ध्यान दिने निकाय नहुँदा दामन क्षेत्रमा भने लालीगुराँस मासिने क्रम बढेको छ ।

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने नामटार, अघोर, झिरघारी, दन्दु भञ्ज्याङ, सीमभञ्ज्याङ, दामन, टिष्टुङका जंगलमा सात प्रजातिका गुराँस फुल्ने गर्छन् । केही वर्षअगाडि झिरघारीमा लालीगुराँसबाट जुस उत्पादन गर्दा बनमा लालीगुराँस फस्टाउन सकेको थिएन । तर, हाल जुस बनाउने कार्य रोकिएपछि लालीगुराँसको जंगल बढेको पालुङका जर्म श्रेष्ठको भनाइ छ ।

दामन सीमभञ्ज्याङ क्षेत्रमा लालीगुराँससँग रमाउन काठमाडौ, हेटांैडा, चितवन र बीरगञ्जका लालीगुराँस पारखीहरु आउने गरेका छन् । लालीगुराँसले राजपथ आपसासका जंगलमात्र राताम्य भएका हुँदैनन्, यसकारण होटल व्यबसायीहरुलाई समेत आम्दानीको बाटो खुल्ने गर्दछ । लालीगुराँसको बनक्षेत्र फैलाउन सके हिउँदे सिजनलाई लालीगुराँस पारखीहरुबाट पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउन सकिने दामनस्थित गौरीशंकर होटल सञ्चालक शिवकुमार खत्री बताउनुहुन्छ ।

मकवानपुरको सबभन्दा ठूलो करुणाभूमि, मंगलेश्वर, पातालेश्वर, ऋषेश्वर, कालीदेवी, कोटथुम्की, शंकरदीप, कालीबञ्जार र चुनीदेवीलगायत सामुदायिक बन गुराँसका खानी क्षेत्र हुन् । त्यसक्षेत्र लालीगुराँसको ‘मिनी राजधानी’ भनेर चिनिन्छ । बढी संख्यामा रातो गुराँस देखिने दामन, पालुङका बनहरु अन्य प्रजातिका गुराँसको पनि धनी छ । त्यहाँ खैरो र सेतो गुराँस पनि देख्न पाइन्छ ।

थाहानगरको सौन्दर्य वसन्त याममा बढी खुल्दा गुराँसले राताम्मे हुन्छ । गुराँस नफुल्दा उक्त क्षेत्रको साख घट्छ । लाग्छ, थाहानगर र गुराँस एकअर्काका पर्याय हुन् ।मकवानपुरको विकट गाउँ र धादिङका केही क्षेत्रलाई समेटी लालीगुराँस पर्यटकीय मेला गरिएको थियो । खैराङ, काँकडा र धादिङको महादेवस्थानअन्तर्गत् त्रिगाविस सिमानामा पर्ने भिम्बुङ बुर्जामा भिम्बुङ ग्रामीण पर्यटन प्रवद्र्धन केन्द्रको आयोजनामा मेला गरिएको हो ।

गुराँस संरक्षण मेला भर्न आउने पर्यटकले गुराँसको प्रत्यक्ष अवलोकन गर्न पाउनुका साथै धौलागिरि, निलगिरि, गणेश, माछापुच्छ्र्रे र अन्नपूर्णलगायत उच्च हिमशिखरको अवलोकन गर्न पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्