ट्रयाक खुलेको बीस बर्षपछि सडक कालोपत्रे



न्युज अफ नेपाल,पर्वत । 

पर्वतको जलजला गाउँपालिका–४, मोहनचोकदेखि मल्लाजको फड्केढुंगा जोड्ने सडक कालोपत्र शुरु एको छ । ट्रयाक खुलेको २ दशकपछि यो सडक कालोपत्र हुन लागेको हो । गाउँपालिकाको केन्द्र मोहनचोकदेखि फट्केढुंगा सम्मको ३२० मीटर सडक कालोपत्र र ३२० मीटर आरसीसी ढलान गरिने भएको छ ।

गाउँपालिकाले माछापुच्छ्रे निर्माण सेवासँग सडक कालोपत्रका लागि १ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । उक्त सडकमा ६.५ मीटर फराकिलो ढलान र कालोपत्र हुने गाउँपालिकाले बताएको छ । मोहनचोकदेखि फट्केढुंगासम्मको ४ किलोमिटर सडकलाई पहिलो चरणमा विस्तार गरेर ७ मीटर फराकिलो बनाइएको छ ।
बेनी–मालढुंगा सडक अन्तर्गत वि.स. २०५५ मा विश्व खाद्य कार्यक्रमको सहयोगमा यो ट्रयाक खुलेको थियो । लामो समयसम्म स्तरोन्नति हुन नसकेको सडक एकैपटक कालोपत्र हुन थालेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।

उहाँका अनुसार गतवर्ष विनियोजन भएको ९९ लाख बजेटबाट खोलाको किनार र खेतकोबीचमा रहेको २८३ मीटर सडक ढलान भएको थियो । उक्त सडक ८ मीटर चौडाइमा ढलानका साथै नाली पनि बनाइएको छ । गतवर्ष ४५ मीटर पक्की पर्खाल र २०० थान ग्याबियन पर्खाल निर्माण भएको थियो ।

२०७४ मा विनियोजन भएको ९० लाख रुपैयाँबाट उपभोक्ता समितिमार्फत सिद्धको थान भन्ने ठाउँसम्म फराकिलो बनाएको थियो । सोही वर्ष सल्लेरीको जंगलमा नयाँ ट्रयाक खोलेर घुमाउरो सडकको १ किलोमीटर दूरी छोट्याइएको छ । मोहनचोक मल्लाज सडक २ दशकदेखि सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको थियो ।

गाउँपालिकाको धेरै वडालाई समेट्ने र पुरानो यस सडकलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेर क्रमागत योजनामा समावेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । यो सडकबाट जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँटका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दा लाभान्वित हुने छन् । सडक कालोपत्र सम्पन्न भएपछि तरकारी, सुन्तला, दूधलगायत कृषि उपज निकासीमा सहज हुने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्