ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम



अमृत अर्याल, स्याङजा ।

स्याङ्जाको गल्याङमा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम सुरु भएको छ । गल्याङ नगरपालिकाको समन्वयमा आधिखोला बहुप्राविधिक शिक्षालयको सञ्चालनमा ६५ दिने तालिम सुरु भएको हो । तालिमको उद्घाटनका अवसरमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले गाउँगाउँमा पशु स्वास्थ्यका लागि जनशक्ति उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले गल्याङ नगरपालिकाले कृषि र पशुका लागि विशेष प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै अब व्यवसायिक ढंगले लाग्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो –‘घरमा नौ वटा बाख्रा पाल्ने गरिन्छ तर हामीलाई एक सय वटा बनाउने सोच कहिल्यै आएन, बरु दिल्लीमा जागिरका जाने प्रबृत्ति बन्यो ।’ उहाँले जागिर खान खोज्ने र आफुु भन्दा जान्ने कोही छैन भन्ने प्रबृत्ति कोरोना भाइरस भन्दा खतरनाक हुने गरेको भन्दै यसलाई सबैले हटाउनुपर्ने बताउनुभयो ।

रोजगार भन्दा स्वरोजगार हुने कुरा धेरै महत्वपुर्ण रहेको भन्दै नगरप्रमुख अधिकारीले श्रम गर्नका लागि हिच्कीचाउन नहुनेमा जोड दिनुभयो । उहाँले तालिमको अवधि बढाएर भएपनि सक्षम जनशक्ति उत्पादन हुनुपर्ने भन्दै तालिमका लागि आवश्यक समन्वय र सहयोग गर्न नगरपालिका सधैं तयार रहेको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो –‘६५ दिनको तालिमले पर्याप्त नहुन सक्छ । छ महिनाको तालिमको तयारी गर्नुस्, नगरपालिका सहयोग गर्न तयार छ ।’ उहाँले नगरपालिका भित्र एक सय जना पशु स्वास्थ्य कार्यकर्ताको आवश्यकता रहेको भन्दै अब यसका लागि आवश्यक काम गर्ने बताउनुभयो ।

कार्यक्रममा आधिखोला बहुप्राविधिक शिक्षालयका तालिम संयोजक कमल गैरेले तालिमलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले तालिमपछि परीक्षा हुने र उत्तिर्ण हुनेहरुका लागि मात्रै प्रमाणपत्रको व्यवस्था गरिने स्पष्ट पार्नुभयो ।

गल्याङ नगरपालिका पशु शाखा प्रमुख तथा तालिमका प्रशिक्षक सुशिल अर्यालले पशुका लागि यो तालिम पहिलो चरण भएको भन्दै आगामी दिनमा पनि तालिमलाई अझै अघि बढाउँदै लैजाने बताउनुभयो ।

उहाँले दैनिक छ घण्टा तालिम सञ्चालन हुने र तालिमका क्रममा सम्बन्धित ठाउँमा नै पुगेर शिक्षण सिकाई हुने जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन गर्नुभएका गल्याङ नगरपालिका जनसम्पर्क शाखाका प्रमुख दलबहादुर सिंजालीले तालिम पछि ग्रामिण क्षेत्रमा पशुको उपचारमा सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा गल्याङ नगरपालिकाका विभिन्न वडाका २० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्