दुर्घटना न्यूनीकरणका लागि फक्स लाइट हटाइँदै



मिला दरै, तनहुँ

हेभी सवारीसाधनले आपूmखुसी सवारीसाधनमा लाइट थप्ने काम गरेको पाइएको छ। ढुवानीका लागि प्रयोग हुने साधनले गरेको यस्ता कार्यले रातको समयमा दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले हटाउन थालेको छ। कोरोना भाइरसको जोखिम मोलेर भए पनि तनहुँका ट्राफिकले केही दिनदेखि निरन्तर रूपमा ट्राफिक नियमविपरीत थपिएका फक्स लाइट (बत्ती) हटाइरहेका छन्।

सवारीसाधनमा जडित फक्स लाइटले विपरीत दिशाबाट आउने सवारीलाई असर पार्ने र दुर्घटनामा वृद्धि भएको पाइएपछि त्यस्ता लाइट निकाल्न थालिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार सवारीमा राति बाटो देखाउनका लागि अगाडि भागमा दुईवटा लाइट मात्रै राखिएका हुन्छन् तर आपूmखुसी थपेर चलाउने गरेको पाइएकाले हटाउन थालिएको हो।

रातको समयमा डिम गरेर वितरीत दिशाबाट आएको गाडीलाई यात्रा सहज बनाउनुपर्नेमा उल्टो ठूलो फक्स लाइट जथाभावी राखिँदा समस्या थपिएकाले हटाउन थालिएको अधिकारीले बताउनुभयो। १८ दिनको अवधिमा करिब १ सय ७० वटाभन्दा बढी गाडीमा थपिएका फक्स लाइट हटाइएको र १ हजार रुपियाँका दरले जरिवाना लिइएको उहाँको भनाइ छ।

ट्राफिकले हटाउन थालेको चाल पाएपछि जरिवानाबाट बच्न कतिपयले थपिएका त्यस्ता लाइट आफैँ हटाउन थालेको ट्राफिकले जनाएको छ। ट्राफिकले गरेको अनुसन्धानको क्रममा गाडीका चालकले विपरीत दिशाबाट ठूलो फक्स लाइट बाल्दा आँखा नदेखेर दुर्घटनामा परेको जनाएपछि पृथ्वी राजमार्गमा गुडेका र तनहुँबाट सञ्चालित अन्य शाखा राजमार्गहरूमा फक्स लाइट राखी गुडाउनेलाई कारबाही गर्नुका साथै लाइटसमेत हटाइएको ट्राफिक प्रमुख अधिकारीले बताउनुभयो। उहाँका अनुसार साना, मझौला र ठूला सबै प्रकारका गाडीले फक्स लाइट थप गर्ने गरेको र अधिकांशले दुईवटा थप गर्ने गरेको पाइएको छ।

चालक र सहचालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका–५ कोरिखास्थित सडकखण्डमा बुधबार दुर्घटना भएको हो।

मृत्यु हुनेमा गोर्खाको पालुङटार नगरपालिका–७ च्याङ्लीका २१ वर्षीय चालक प्रेम कुमाल र बन्दीपुर गाउँपालिका–४ नयाँ पुलका २२ वर्षीय सहचालक राजकुमार परियार रहेका छन्।

बाउन भञ्ज्याङबाट कोरिखातर्फ जाँदै गरेको ग१त ४८०८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक कुमालको घटनास्थलमै र सहचालक परियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल बारीमा खसेको थियो।

सहचालक परियारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको लामिछानेले बताउनुभयो। कुमाल र परियारको शव पोस्टमार्टका लागि दमौली अस्पतालमा ल्याइएको र दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्