अस्पताल निरीक्षण गर्दै गृह सचिव भने सेवा चुस्त होस्



नेपाल समाचारपत्र, काठमाडौं

गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण गरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको छ।

सो अवसरमा गृह सचिव न्यौपानेले नेपाल प्रहरी अस्पातलको रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोस्टअप, डेन्टल विभाग, अर्थो वार्ड, स्त्री तथा प्रसूति वार्ड, सर्जिकल वार्ड, भीआईपी डिलक्स, पथ्य विभाग, विभिन्न ओपीडी, इमर्जेन्सी, प्याथोलोजी, हेमोडायलासिस, आईसीयू, प्रस्तावित कोरोना भाइरस क्वारेन्टाइन वार्ड, आइसोलोसन वार्ड, निर्माणाधीन रहेको गाइनो, बाल वार्ड, महिला ब्यारेक र पार्किङको निरीक्षण गर्नुभएको हो।

निर्देशन सम्बोधनको क्रममा गृह सचिव न्यौपानेले अस्पतालको भौतिक सुविधा बढाई थप गुणस्तरीय सेवा प्रवाह गर्न सक्ने बनाउन मन्त्रलायको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अस्पतालमा विभिन्न भवनहरू निर्माणाधीन अवस्थामा रहेको सुखद पक्ष भएको चर्चा गर्दै गृह सचिव न्यौपानेले स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तर देखाउने भएकोले यसप्रति स्वास्थ्यकर्मीहरू सचेत हुनुपर्ने बताउनुभयो।

प्रहरी अस्पताल सबै प्रहरी कर्मचारी र नागरिकसमेतको आशाको केन्द्र भएकोले यसबाट प्रवाह गर्ने सेवामा कुनै पनि विभेद गर्न नहुने उहाँले चर्चा गर्नुभयो।
अस्पताल भन्नासाथ सरसफाइ महत्वपूर्ण विषय भएकोले अस्पतालका हरेक स्थानहरूमा सरसफाइमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

अस्पतालमा ल्याबको गुणस्तर बढाउने, बेड संख्या थप गर्ने, नर्सिङ कलेजको सञ्चालनलगायतका कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने गृह सचिव न्यौपानेले उल्लेख गर्नुभयो।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी कर्मचारीहरूको आशाको केन्द्रको रूपमा रहेको अस्पतालको आधुनिकीकरण र आत्मनिर्भरता संगठनको उच्च प्राथमिकताको विषय भएको बताउनुभयो।

रोगको पहिचान र मानवीय संवेदनासँग समेत जोडिएको विषय चिकित्सा सेवामा जोडिएर कर्तव्य पालना गर्न पाउनु कार्यरत प्रहरी कर्मचारीको अवसर भएकोले प्रहरी कर्मचारीहरूले सेवाभावको उत्कृष्टता प्रस्तुत गर्दै सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले प्रहरी अस्पतालको गतिविधि र भावी योजनासम्बन्धी जानकारी दिनुभएको उक्त कार्यक्रममा अस्पतालका विभिन्न विभागका प्रमुखहरूले २४ घन्टाभित्र अस्पतालमा भएका गतिविधिहरूको संक्षिप्त जानकारी गराउनुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्