युएस बंगला विमान दुर्घटना विवादको अधिकारक्षेत्र नेपालमै



नेपाल समाचारपत्र, काठमाडौं

बंगलादेशबाट काठमाडौं आएको युएस बंगला एयरलाइन्सको विमान अवतरणको क्रममा दुई वर्ष अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भई विमानमा सवार नेपाली नागरिकको मृत्यु भएको सम्बन्धमा सात जना पीडितले दायर गरेको क्षतिपूर्तिसम्बन्धी मुद्दाको न्याय निरुपण गर्न नेपालको न्यायलयमै अधिकार क्षेत्र कायम भएको छ।

पीडित सात जना यात्रुका आमाबाबुले दायर गरेको छुट्टाछुट्टै मुद्दाको अधिकारक्षेत्र नेपालमै रहने भनी काठमाडौं जिल्ला अदालतले गत मंसिर १९ गते गरेको आदेश रीतपूर्वक भएकाले बदर गर्न नपर्ने भनी उच्च अदालत पाटनले ठहर आदेश गरेको छ। प्रारम्भिक सुनुवाइका क्रममा उक्त विमान सञ्चालक कम्पनी एवं उसका बिमक र पूनर्बिमक कम्पनीले उक्त विवादको निरुपण गर्न नेपालमा अधिकारक्षेत्र नै नरहेको जिकिर गर्दै आएका थिए।

‘सम्मानित उच्च अदालतको ऐतिहासिक आदेशबाट सार्वभौम नेपाली नागरिकले अन्तर्राष्ट्रिय उडानका क्रममा दुर्घटना भई व्यहोर्ने जुनसुकै क्षतिका निमित्त नेपालमै मुद्दा गर्ने सक्ने ढोका खुला भएको हुनाले हवाइ कानुन र निजी अन्तर्राष्ट्रिय कानुनको विधिशास्त्रमा यसले नेपालमा दूरगामी महत्व राख्नेछ,’ पीडितका कानुनी सल्लाहाकार अमृत खरेलले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्