प्रहरीले रोक्यो बालविवाह, ३ सय जन्ती रित्तै फर्किए



सीताराम अधिकारी, धादिङ

बालिकाको विवाह गर्न लागेको महिला अधिकारकर्मीले प्रहरीमा दिएको सूचनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ।

१८ वर्षीया सपना सुवेदीको विवाहको तयारी भइरहेको थियो। लिंगाचौका गरेर हिजो सबैले साइत गरेका थिए। गाउँबासी जम्मा भएका थिए। गजुरी–६, मिलनटार निवासी धु्रव सुवेदीले छोरी बालिका भए पनि विवाह गर्न लागेपछि गाउँका महिलाअधिकारकर्मीले प्रहरीलाई विवाह रोक्न खबर गरेका थिए। घटनापछि गल्छी गाउँपालिका–६, वाहुन पलाङस्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराज बेहुली लिन गए पनि आदमघाटबाट टोली फर्किएको थियो।

कृष्ण अधिकारीले २ बस, र अन्य गाडी रिजर्व गरी ३ सय जन्ती लिएर आउँदै गरेको खबर फोनमा पाइसकेका बेहुला पक्षलाई वैरेनी प्रहरीचौकी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीले विवाह रोकेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानाकारी दिनुभयो। स्थानीय आमा समूहले उमेर नपुगेकाले विवह नगरिदिन बारम्बार मौखिक अनुरोध गरे पनि नमानेपछि विवाह रोकिएको थियो।

माइती पक्षलाई विवाह रोक्न आदेश दिएको प्रहरीले दुलाहा पक्षका जन्तीलाई आदमघाटस्थित सशस्त्र प्रहरी बेसक्याम्पबाटै फर्काएको थियो।
यसैबीच आफूखुसी बालविवाह गरेको आरोपमा बालविावह गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ। नीलकण्ठ नगरपालिका–६ का १६ वर्षीया बालिका र १७ वर्षीय बालकबीच विवाह भएकाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको हो। उनीहरुले फागुन २ गते भागेर विवाह गरेकाले उनीहरु दुवैजना बालक भएका कारण विवाह गर्न नमिल्ने भएकाले बालविवाह रोकेर बालविवाहसम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रूपक खड्काले जानाकारी दिनुभयो।

 

 

प्रतिक्रिया दिनुहोस्