स्वास्थ्य परीक्षण: केन्द्रविहीन सीमा नाका



राम धामी, डडेल्धुरा

कोराना भाइरसको संक्रमण रोक्न मुलुकका विभिन्न सीमा नाकाहरुमा कडीकडाउ गर्नुका साथै स्वास्थ्य परीक्षण केन्द्र स्थापना भइरहेका बेला डडेल्धुरा जिल्लाको भारतीय सीमासंग जोडिएका नाकाहरुमा भने कुनै पनि गतिविधि सञ्चालन भएका छैनन्। यहाँका सीमा नाकाहरुमा स्वास्थ्य परीक्षण केन्द्रसमेत स्थापना गरिएको छैन।

जिल्लाको भारतसंग सीमा जोडिएका सिसमजाला घाट र परशुरामधामस्थित वाङघाटका साथै रूपालसँग जोडिएको सीमा नाकामा हालसम्म सरकारको उपस्थित हुन नसक्दा यस क्षेत्रमा भने कोरोना भाइरस संक्रमणको सम्भाव्य जोखिम रहन सक्ने स्थानीयले आशंका गरेका छन्। भारतीय सिमानाका जोडिएका परशुराम नगरपालिकाका वडा नं. ५ र ६ मा रहेका सीमा नाकामा हालसम्म जनचेतना अभिवृद्र्धी गर्ने किसिमका कुनै पनि काम नभएको र स्वास्थ्य परिक्षण केन्द्र समेत स्थापना हुन नसकेको स्थानीयले बताए।

भारतको सीमा क्षेत्रमा रहेका यहाँका नाकाहरुबाट दैनिक सयौं स्थानीयहरु आवतजावत गर्ने गर्दछन्। जिल्लाको झण्डै आधा जनसंख्या रहेको भित्रिमधेस क्षेत्रमा रहेका दुबै नाकाहरुका साथै पहाडी क्षेत्रका बासिन्दाहरुले प्रयोग गर्ने रूपाल नाकामा हालसम्म स्वास्थ्य परीक्षणका लागि हेल्पडेस्कसमेत स्थापना हुन नसकेको र सरकारले सामान्य पर्चा पोष्टरसमेत पु¥याउन नसकेको स्थानीय अगुवा कर्णबहादुर धामी ‘सागर’ले बताए।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भने भारतसंग जोडिएका सीमा नाकामा हेल्प डेस्क स्थापना गर्न स्थानीय तहलाई फागुन २२ गते लिखित रूपमा पत्राचार गरेको जनाएको छ। जिल्लामा रहेका हरेक स्थानीय तहसंग कोरोना संक्रमण हुन नदिन सचेतना अभियान सञ्चालन गर्न समन्वय गर्नुका साथै पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए।

भारतसंग सीमा जोडिएको नाकामा स्वास्थ्य सहायता कक्षसमेत स्थापना नहुनु लापरबाही भएको स्थानीयको गुनासो छ। परशुराम नगरपालिकामार्फत वार्षिक रूपमा ठेक्का भई सिमावर्ती महाकाली नदीमा डुंगा चलाएर सिसमझाला र वाङघाटमा आवागमन गर्ने गरिएको छ भने सीमा नाकाबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि यहाँका नाकामा भने कुनै व्यवस्था गरिएको छैन।

भित्रिमधेस क्षेत्रका दुवै नाकामा सशस्त्र द्वन्द्वपूर्व अस्थायी छोटी भन्सार कार्यालय थिए। सशस्त्र द्वन्द्वका क्रममा विस्थापित छोटी भन्सार कार्यालयसमेत हाल छैनन्। सीमा क्षेत्रमा रहेका प्रहरी चौकीबाट एकजना प्रहरीले तार उतार घाटमा पहरा दिने गरेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। रूपालस्थित सीमा नाकामा भने सर्वसाधारणले ट्युवमार्फत् महाकाली नदी वारपार गर्ने गरेका छन्। सीमा नाकामा तत्काल स्वास्थ्य परीक्षण केन्द्र हुनुपर्ने स्थानीयको जोडदार माग छ।

 

प्रतिक्रिया दिनुहोस्