कोरोना संक्रमण: एकढिक्का भएर अघि बढ्ने दलको प्रतिबद्धता



भगवती तिमल्सिना, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै त्रसित बनाएका बेला नेपालका राजनीतिक दलहरुले यसको संक्रमण हुन नदिन एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा उनीहरूले यसमा सरकारलाई समेत सहयोग गर्ने बताएका छन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको उपस्थिति र सल्लाहअर्थपूर्ण भएको मन्त्री पोखरेलले बताउनुभयो। बैठकमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि सहभागी हुनुहुन्थ्यो।

नेपाली कांग्रेस युवा नेता एवम् पूर्वस्वास्थ्यमन्त्री गगन थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ यसबाट जोखिने तयारीबारे सुझाव दिनुभएको थियो।

यसैगरी बुधबारै कोरोना भाइरसका बारेमा बृहत छलफल र जानकारी गराउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले कोरोनाविरुद्धको लडाइँमा कुनै कमजोरी हुन नदिई अघि बढ्ने बताउनुभयो।

सरकारले कोरोनाको भाइरसको उपचारको कुनै ठोस निर्णय लिइ नसकेको र परीक्षणको विषयमा भने निःशुल्क गरिएको बताउँदै उहाँले भन्नुभयो– ‘अहिलेसम्म ल्याब परीक्षण गर्न एक जनाका लागि करिब २० हजार रूपियाँ लाग्छ, यो भने सरकारले निःशुल्क गर्दै आएको छ।’

 

प्रतिक्रिया दिनुहोस्