होलीमा ६२ सवारी साधन, १३ माथि कारवाही



सप्तरी। 

जिल्ला प्रशासन कार्यालय र प्रहरीले होली शान्तिपूर्णरुपमा मनाउन आग्रह गर्दागर्दै होहल्ला गरेर हिँडेको आरोपमा सप्तरीबाट पक्राउ परेका १३ जना आज रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजविराजसहित विभिन्न स्थानबाट होहल्ला गर्ने, इच्छाविपरीत रङ लगाउने, झै–झगडा गर्नेलाई प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएकामा आज रिहा गरिएको हो ।

नियन्त्रणमा लिइएका व्यक्तिलाई मनोविमर्श गरी निजको परिवारका सदस्यको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताउनुभयो । यसैगरी कागजपत्र नराखेको, हेल्मेट नलगाएको, दुईभन्दा बढी मानिस चढेको ६१ थान मोटरसाइकल र अत्यधिक गतिमा चलाएको एउटा अटो रिक्सालाई ट्राफिक नियमअनुसार जरिवाना काटेर सवारी साधन सम्बन्धित धनीको जिम्मा लगाइएको छ ।

होलीका दिन मदिरा सेवन गरेर सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ट्राफिक प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको थियो । कोरोना भाइरसको त्रासका कारण जिल्ला प्रशासन कार्यालय सप्तरीले घरभित्रै सीमित रहेर होली मनाउन अपिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्