डडेल्धुराका सिमा नाकाहरु स्वास्थ्य परिक्षण केन्द्रविहीन



राम धामी,डडेल्धुरा।

कोराना भाईरसको संक्रमण रोक्न मुलुकका विभिन्न सिमा नाकाहरुमा कडीकडाउ गर्नुका साथै स्वास्थ्य परिक्षण केन्द्र स्थापना भईरहेका बेला डडेल्धुरा जिल्लाको भारतीय सिमासंग जोडिएका नाकाहरुमा भने कुनै पनि गतिविधी सञ्चालन भएका छैनन् । यँहाका सिमा नाकाहरुमा स्वास्थ्य परिक्षण केन्द्र समेत स्थापना गरिएको छैन ।

जिल्लाको भारतसंग सिमा जोडिएका सिसमजाला घाट र परशुरामधामस्थित वाङघाटका साथै रुपालसँग जोडिएको सिमा नाकामा हालसम्म सरकारको उपस्थित हुन नसक्दा यस क्षेत्रमा भने कोरोना भाईरस संक्रमणको सम्भाव्य जोखिम रहन सक्ने स्थानीयले आशंका गरेका छन् । भारतीय सिमानाका जोडिएका परशुराम नगरपालिकाका वडा नं. ५ र ६ मा रहेका सिमा नाकामा हालसम्म जनचेतना अभिबृद्धि गर्ने किसिमका कुनै पनि काम नभएको र स्वास्थ्य परिक्षण केन्द्र समेत स्थापना हुन नसकेको स्थानीयले बताए ।

भारतको सिमा क्षेत्रमा रहेका यहाँका नाकाहरुबाट दैनिक सयौ स्थानीयहरु आवत जावत गर्ने गर्दछन् । जिल्लाको झण्डै आधा जनसंख्या रहेको भित्रिमधेस क्षेत्रमा रहेका दुबै नाकाहरुका साथै पहाडी क्षेत्रका बासिन्दाहरुले प्रयोग गर्ने रुपाल नाकामा हालसम्म स्वास्थ्य परिक्षणका लागि हेल्पडेस्क समेत स्थापना हुन नसकेको र सरकारले सामान्य पर्चा पोष्टरसमेत पु¥याउन नसकेको स्थानीय अगुवा कर्णबहादुर धामी ‘सागर’ले बताए ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भने भारतसंग जोडिएका सिमा नाकामा हेल्प डेस्क स्थापना गर्न स्थानीय तहलाई फागुन २२ गते लिखित रुपमा पत्राचार गरेको जनाएको छ । जिल्लामा रहेका हरेक स्थानीय तहसंग कोरोना संक्रमण हुन नदिन सचेतना अभियान सञ्चालन गर्न समन्वय गर्नुका साथै पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

भारतसंग सीमा जोडिएको नाकामा स्वास्थ्य सहायता कक्ष समेत स्थापना नहुनु लापरवाही भएको स्थानीयको गुनासो छ । परशुराम नगरपालिकामार्फत बार्षिक रुपमा ठेक्काभई सिमावर्ती महाकाली नदीमा डुंगा चलाएर सिसमझाला र वाङघाटमा आवागमन गर्ने गरिएको छ भने सिमा नाकाबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परिक्षण गनुपर्ने भए पनि यहाँका नाकामा भने कुनै व्यवस्था गरिएको छैन् ।

भित्रिमधेस क्षेत्रका दुबै नाकामा शसस्त्र द्वन्द्वपुर्व अस्थायी छोटी भन्सार कार्यालय थिए । शसस्त्र द्वन्द्वका क्रममा विस्थापित छोटी भन्सार कार्यालयसमेत हाल छैनन् । सिमा क्षेत्रमा रहेका प्रहरी चौकीबाट एकजना प्रहरीले तारउतार घाटमा पहरा दिने गरेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । रुपालस्थित सिमा नाकामा भने सर्वसधारणहरुले ट्युवमार्फत महाकाली नदी वारपार गर्ने गरेका छन् । सिमा नाकामा तत्काल स्वास्थ्य परिक्षण केन्द्र हुनुपर्ने स्थानीयको जोडदार माग छ ।

प्रतिक्रिया दिनुहोस्