पोखरा वन क्याम्पस प्रमुखको नियुक्ति बदर



न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले गरेको निर्णय पाटन उच्च अदालतले उल्टाएको छ । उपकुलपति नियुक्ति भए लगत्तै प्राडा बास्कोटाले पोखरा स्थित वन क्याम्पसका क्याम्पस प्रमुखमा डा रामप्रसाद शर्मालाई तीन महिनाको लागि नियुक्ति गर्नुभएको थियो । आफु निकट व्यक्तिलाई नियम विपरित नियुक्ति गरेपछि सो नियुक्तिको विरुद्धमा ठाकुर सिलवालले अदालतमा निदेदन दिनुभएको थियो ।

उच्च अदालतले निवेदनको सुनुवाई गर्दै नियम विपरित गरेको नियुक्तिको विरुद्धमा हिजो मंगलबार अन्तरिम आदेश जारी गरेको छ । त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को नियम १८५(२) मा अध्ययन संस्थान अन्तर्गतका क्याम्पसमा क्याम्पस प्रमुख नियुक्ति गर्दा डीनको सिफारिसमा कार्यकारी परिषदले क्याम्पस प्रमुख नियुक्ति गर्ने व्यवस्था उल्लेख छ ।

सो व्यवस्था विपरित फागुन १४ गतेको सिफारिसमा विपक्षी मध्यका डा रामप्रसाद शर्माको नाम समावेश भएको नदेखिएको स्थितिमा गएको फागुन १६ गते बसेको कार्यकारी परिषदको बैठकले डा शर्मालाई गरेको नियुक्ति त्रिविको शैक्षिक प्रशासन व्यवस्था अनुकुल भएको उल्लेख छ ।

आदेशमा निवेदनको अन्तिम टुङगो नलागेसम्म उक्त निर्णय तथा सो निर्णय कार्यान्वयनका लागि गरेको पत्राचार समेत कार्यान्वयन नगर्न आदेश दिएको छ । अदालतका मुख्य न्यायधिस नहकुल सुवेदीले दिएको सो आदेश विश्व विद्यालयलको कार्यकारी परिषदमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्