जीर्ण टहरोमै पठनपाठन



सरोज यादव,  विराटनगर
कुनै विद्यालयको भौतिक संरचना कुन हदसम्म जीर्ण र लथालिङ्ग हुन सक्छ भन्ने उदाहरण हेर्नुपरे मोरङ गए हुन्छ।
धनपालथान गाउँपालिका–४ मा रहेको एक निजी विद्यालयमा विद्यार्थी जोखिमपूर्ण अवस्थामा अध्ययन गर्न बाध्य छन्। अनुमितबिना सञ्चालित उक्त विद्यालयको जीर्ण टहरोमा ज्यान धरापमा राखेर विद्यार्थीले अध्ययन गरिरहेका छन्।
द न्यु ब्राइट फ्युचर इंग्लिस बोर्डिङ स्कुलले कुखुरा पाल्ने खोरभन्दा पनि जीर्ण अवस्थामा रहेको विद्यालयमा १ सय ७५ जना विद्यार्थी पढाइराखेको छ। नर्सरीदेखि कक्षा ६ सम्म अध्यापन हुने यो विद्यालयले प्रतिमहिना विद्यार्थीबाट ४ सयदेखि १५ सय रुपियाँसम्म शुल्क असुल्ने गर्छ।
अभिभावकले विद्यार्थीको पढाइस्तरको मूल्याङ्कन गर्ने भएकाले विद्यालयको भौतिक संरचनाले खासै महत्व नराख्ने लगानीकर्ता समेत रहनुभएका विद्यालयका सहायक प्रिन्सिपल प्रकाश मण्डलको दाबी छ। बाँसको कर्ची, भाटा र परालको प्रयोग गरी बनाइएको यो विद्यालयको छानोमा भने बाँसले नै कर्कटपाता टाँगिएको छ।
जुनसुकै बेला ढल्ने अवस्थामा रहेको यस विद्यालयको नर्सरी कक्षाको दृश्य अझ कहाली लाग्दो छ। विद्यालयको जीर्ण टहरोबाट जुनसुकै बेला दुर्घटना हुन सक्ने भन्दै हामीले प्रश्न गरेपछि प्रिन्सिपल राकेश माझीले हाँस्दै प्रश्न छल्ने प्रयास गर्नुभयो। दुई कट्ठा जग्गा भाडामा लिएर सञ्चालनमा ल्याइएको यस विद्यालय परिसरमा खानेपानीको पनि व्यवस्था छैन।
अनुमतिबिना सञ्चालित विद्यालयको विषयमा जिज्ञासा राख्दा धनपालथान गाउँपालिकाकी शिक्षा अधिकृत सीता भट्टराईले विद्यालयको अवस्थाको विषयमा शिक्षा समितिको बैठक बसेर निर्णय लिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्