कोरोना संक्रमणबाट बच्न अनुगमन प्रभावकारी तयारी गर्न सांसदको आग्रह



नेपाल समाचारपत्र, पर्वत
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिएको अवस्थामा गर्नुपर्ने पूर्वतयारीका बारेमा प्रतिनिधिसभा सदस्य पदम गिरीसहितको टोलीले पर्वत जिल्ला अस्पतालको अनुगमन गरेको छ।
संक्रमणका रुपमा फैलँदै गरेको कोरोना (कोभिड–१९) विरुद्ध जिल्लामा भइरहेको तयारीका बारेमा जानकारी लिन सांसदसहितको टोलीले पर्वत जिल्ला अस्पतालको अनुगमन गरेको हो।
चीनको बुहान प्रान्तबाट फैलिएको भाइरसले नेपालमा पनि भित्रिन सक्ने र त्यसले पर्वत जिल्लावासीलाई समेत प्रभावित पार्न सक्ने भन्दै सांसद गिरीले प्रभावकारीमा तयारीमा लाग्न आग्रह गर्नुभएको हो। अहिलेसम्म भएको तयारीले संक्रमण भएको अवस्थामा आउने चुनौतीलाई सामना गर्न कठिन भएकाले सबैखाले तयारी गर्न स्थानीय प्रशासन, स्वास्थ्य संस्था र सबैलाई उहाँले आग्रह गर्नुभयो।
‘चीनबाट नेपाल फर्केका एक युवालाई भाइरस देखिएको पुष्टि भइसकेकाले नेपालमा यो संक्रमण फैलन सक्ने उच्च सम्भावना रहेको हुँदा सम्भव भएका सबै उपाय अवलम्बन गर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘त्यसका लागि आवश्यक जनशक्ति, स्रोत साधनको व्यवस्थापनका लागि सबै निकायमा मैले पनि पहल गर्छु।’
पर्वतमा कोरना संक्रमण भएको अवस्थामा अवलम्बन गरिने रणनीतिका बारेमा एक साताअघि भएको सरोकारवालाको बैठकले गरेका निर्णयका बारेमा प्रमुख
जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी गराउनुभएको थियो।
पर्वत जिल्ला अस्पतालमा ५ बेडको आइसोलेसन वार्ड तयार गर्ने, उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीका लागि आवश्यक पोसाकसहितको सामग्री माग गर्ने, बजार अनुगमन गर्ने र कृतिम अभाव हुन नदिने तथा सचेतनाका लागि प्रचारप्रसारमा ध्यान दिने निर्णय गरेको थियो।
पर्वत जिल्ला अस्पतालमा पाँच बेडको आइसोलेसन वार्ड एक हप्ताभित्र तयार गर्ने भनिए पनि तयार नभएको हुँदा तत्काल ३ बेडकै भए पनि वार्ड तयार गर्ने अस्पतालका निमित्त प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो। बिरामीको परीक्षण र जाँचका लागि आवश्यक सुरक्षा ड्रेसहरू हालसम्म पनि जिल्लामा उपलब्ध नभएका कारण बिरामी परीक्षणका लागि तयार गर्न कठिन भएकोतर्फ उहाँले ध्यानाकर्षण गरानुभएको थियो।
उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेल, पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीलगायतले तयारीका बारेमा धारणा राख्नुभएको थियो।
चितुवाको आक्रमणबाट वृद्ध घाइते
पर्वतको कुस्मा नगरपालिका वडा नं २ खुर्कोटमा चितुवाको आक्रमणबाट एकजना बृद्ध घाइते हुनुभएको छ।
कुस्मा नगरपालिका–२ खुर्कोट तीनमुरे बस्ने ७१ वर्षीय बृद्ध शेषकान्त शर्मा चितुवाको आक्रमणबाट घाइते हुनुभएको हो। घरनजिकैको वनमा घाँस काट्न गएका बेला मंगलबार दिउँसो बृद्ध शर्मालाई चितुवाले आक्रमण गरेको थियो।
आक्रमणबाट हातलगायतका ठाउँमा चोट लागेको र आफू भीरबाट खसेपछि चितुवा भागेको घाइते शर्माले बताउनुभयो। पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको उहाँको अवस्था भने सामान्य नै रहेको छ।
एक सातादेखि खुर्कोटकै छिमेकी कुस्मा नगरपालिका–३ दुर्लुङ घोगेनीमा चितुवाले लगातार पशुचौपाया मारेपछि सर्वसाधारण त्रसित छन्।

प्रतिक्रिया दिनुहोस्