कोरोनासम्बन्धी सचेतना र अनुगमन



नेपाल समाचारपत्र, स्याङ्जा
कोरोना भाइरसका कारण औषधि पसलमा कालोबजारी बढेको खबर आउन थालेपछि स्याङ्जामा अनुगमन थालिएको छ। हरेक स्थानीय तहका स्वास्थ्य शाखाहरूलाई जिल्ला समन्वय समिति र जिल्ला प्रशासनले चनाखो रहन र चासो राख्न निर्देशन दिएअनुसार औषधि पसलहरूमा अनुगमन थालिएको हो।
वालिङ नगरपालिकाले नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्था र औषधि पसलहरूमा अनुगमनसँगै सचेतना गराइएको छ। वालिङ नगरका नगरप्रमुख दिलीपप्रताप खाँणको नेतृत्वमा खटिएको टोलीले औषधि पसलमा औषधिको अभाव, मास्कको अवस्थालगायतका बारेमा अनुगमन र सचेतना गराइएको थियो।
कोरोनाको जोखिमबाट बच्न मास्कको प्रयोग गर्ने स्वास्थ्य संस्थाको अनुरोधसँगै मास्कमा देखिएको कालोबजारी र वास्तविक अवस्थाका बारेमा अनुगमन थालिएको वालिङ नगर स्वास्थ्य शाखाका प्रमुख कमल पाण्डेले बताउनुभयो।
‘नेपाल उच्च जोखिममा रहेको बताइए पनि आत्तिहाल्नुपर्ने अवस्था छैन तर सावधानी भने रहनु आवश्यक छ’, स्वास्थ्य प्रमुख पाण्डेले भन्नुभयो– ‘सबै औषधि पसललाई चेकजाँच गर्न आउने बिरामीको कोरोनासँग सम्बन्धित ३ वटा कार्डिनल साइन छुट्याउन आग्रह गरेका छौं।’
‘उच्च ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या भएका बिरामी आएमा तुरुन्तै स्वास्थ्य संस्था अथवा स्वास्थ्यकर्मीलाई भेट्न सुझाव दिने भनेर सम्झाएका छौं।’ –उहाँले भन्नुभयो।
वालिङ नगरपालिकामा मास्कलगायत अन्य औषधिमा कालोबजारी नदेखिएको र मास्कको अभाव भने रहेको पाइएको पाण्डेले बताउनुभयो। कोरोनाको ख्याल गर्दै नगरस्तरीय सबै स्वास्थ्य चौकीलाई तयारी अवस्थामा राखिएको छ।
वालिङभित्र रहेका स्वास्थ्य चौकी होस् वा औषधि पसलमा चेकजाँच गर्न आउने बिरामीको ठेगाना र फोन नम्बर राखेर त्यसको डाटा नगर शाखाले संकलन गर्न प्रमुख खाँणले शाखा प्रमुखलाई निर्देशन दिनुभएको छ।
अनुगमनमा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, इलाका प्रशासन वालिङका प्रमुख दामोदर शर्मा, वडा प्रहरी कार्यालयका प्रमुख निरन्जन घिमिरेलगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। अवैध ओसापसारबाट पनि विभिन्न खालका रोगहरू भित्रने भएकाले सबै ठाउँमा चेकजाँचलाई कडाइ गरिएको वडा प्रहरी कार्यालयका प्रमुख घिमिरेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्