१५ प्रतिशत बालबालिका खोपबाट वञ्चित



नेपाल समाचारपत्र, तनहुँ
देशैभर हाल स्वास्थ्य मन्त्रालयबाट खोप अभियान सञ्चालन भइरहेको छ। अभियान सञ्चालन गरे पनि तनहुँमा १५ प्रतिशत बालबालिका खोपबाट वञ्चित भएका छन्।
नेपालभर २१ प्रतिशत बालबालिका खोपबाट वञ्चित भए पनि तनहुँमा मात्र १५ प्रतिशत वञ्चित रहेका स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो। १५ प्रतिशत बालबालिकालाई खोपको दायरामा ल्याउनका लागि खोप अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो।
उहाँका अनुसार नेपालमा अझै पनि १ प्रतिशत बालबालिकालाई खोपका बारेमा थाहा छैन। दादुरा–रुबेला खोप अभियानका बारेमा जानकारी दिन मंगलबार गरिएको पत्रकार सम्मेलनमा बालबालिका खोपको पहुँचमा पुग्न नसकेको अधिकारीले बताउनुभयो। विगतका वर्षमा खोपको पहुँचमा कमी भएपछि अभियान सञ्चालन गरेर खोपको दायरामा ल्याउन स्थानीय तहका वडाहरूमा जिम्मेवारी तोकिएको अधिकारीले बताउनुभयो।
तनहुँका २८ हजार ७ सय ६४ बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्ध खोप लगाउने भएको उहाँले जानकारी दिनुभयो। रोग नियन्त्रण गर्न र यसबाट हुने मृत्युदरलाई घटाउन मद्दत पु¥याउने उद्देश्यले कार्यालयले अभियान सञ्चालन गरेको हो। दादुरा–रुबेला रोगविरुद्ध खोप अभियान पहिलो चरणअन्तर्गत चैत १ देखि ९ गतेसम्म र दोस्रो चरण चैत १० देखि १८ गतेसम्म बालबालिकालाई खोप केन्द्रहरूबाट खोप लगाइनेछ।
चैत १ गते देखि १८ गतेसम्म ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई नछुटाई खोप लगाउन निमन्त्रण बाँडिएको अधिकारीेले बताउनुभयो। जिल्लाका ७८ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन्। पहिलो चरणअन्तर्गत व्यास नगरपालिकाको श्याम्घा, कात्तिकेचौर, सत्तिस्वाँरा, गजुरे र रिस्तीको खोप केन्द्रबाट खोप लगाइनेछ।
त्यस्तै, शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार, ढोरफिर्दी, फिरफिरे, राईपुर, थप्रेक, भिमाद नगरपालिकाको भिमाद, भानुमति, अरुणोदय, किहुँ, माझकोट, भानु नगरपालिकाको ज्यामरुक, रूपाकोट, चिसापानी, घिरिङ गाउँपालिकाको शाभुङहटिया, घिरिङ, गजरकोट र रिसिङ गाउँपालिकाको रिसिङ रानीपोखरी, राम्जाकोट र कोटदरबार खोप केन्द्र राखिएको उहाँको भनाइ छ।
अधिकारीका अनुसार अभियानअन्तर्गत खोप दिने स्वास्थ्यकर्मीहरूलाई चार दिने तालिम प्रदान गरी तयारी अवस्थामा राखिएको छ।
जिल्लास्तरमा स्वास्थ्य संस्थाका प्रमुखहरूको परिचयात्मक तालिम तथा योजना तर्जुमा गोष्ठी गरिसकिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
‘पूर्ण खोप लगाऔँ, बालबालिकालाई रोगहरूबाट सुरक्षित गराऔँ, नियमित खोप कुनै पनि नछुटाऔँ’ भन्ने नारासहित अन्य खोपको फाइदा समेटिएको जनचेतनामूलक कार्ड घर–घरमा पुगेर वितरण गर्ने काम भइरहेको छ। उहाँका अनुसार तनहुँमा रहेका ५ सय ३० खोप केन्द्रबाट दुई चरणमा काम गर्ने गरी २ सय ४ जना स्वास्थ्यकर्मी तथा १ हजार ६० स्वयंसेवक खटाइनेछ।
पहिलो चरणमा ३७ वडा र दोस्रो चरणमा ४८ वडामा खोप सञ्चालन गरिने उहाँले बताउनुभयो।
दादुरा अतिछिटो सर्ने संक्रामक रोग मिजल्स भाइरसको कारणबाट हुन्छ। रुबेला पनि भाइरस (रुबेला भाइरस) कारणबाट हुने दादुराजस्तै देखिने संक्रामक रोग भनेर विश्व स्वास्थ्य संगठनले दाबी गरेको छ।
यी रोगहरू सामान्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्ने र यसले छिट्टै महामारीको रूप पनि लिन सक्ने हुँदा नेपाल सरकारकै कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्