गोकुल बास्कोटाको घरमा बम विष्फोट



न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान करिब आठ बजे बम विष्फोट भएको छ ।

मध्यपुरथिमि नगरपालिका १ को लोकन्थलीको मनोहरा फाँटमा रहेको बास्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट भएको हो ।

बम विस्फोटबाट बास्कोटाको घरको पर्खाल, घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक (डीएसपी) शान्तिराज कोईरालाले जानकारी दिनुभयो ।

विस्फोटका बेला बास्कोटा भने निवासमा थिएनन् । उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन् । मन्त्रीबाट राजीनामा दिएपछि पनि उनी आफ्नो निवास सरेका छैनन् ।

बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली पुगेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चार मन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्