दुई स्रष्टाको शालिक अनावरण



नेपाल समाचारपत्र, काठमाडौं
वासु शशी स्मृति परिषद्को आयोजनामा कविलवस्तुको कपिलधाममा वरिष्ठ कवि एवं नाटककार वासु शशी तथा प्राडा. कुमाबहादुर जोशीको सालिक अनावरण गरिएको छ। परिषद्का अध्यक्ष वरिष्ठ साहित्यकार गणेश रसिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उप–कुलपति रमेश ढकालले वासु शशीको र बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्राडा. कुमारबहादुर जोशीको सालिक अनावरण गर्नुभएको थियो।
उपकुलपति ढकालले समाजका लागि नयाँ ऊर्जा दिने स्रष्टाहरूको प्रतिमा स्थापनाले तिनका जीवन र दृष्टिकोणबारे बुझ्न सहयोग पुग्ने बताउनुभयो। यसैगरी, सांसद वैद्यले साहित्यले हामीलाई नयाँ सोच र चिन्तन प्रदान गर्ने भएकाले यसप्रकारका कार्यले भोलिको पुस्तालाई बाटो देखाउन मद्दत पुग्ने बताउनुभयो।
साहित्यकार गणेश रसिकले नेपाली साहित्यमा कवि वासु शशी र डा. कुमारबहादुर जोशीको योगदानको मूल्यांकन गर्दै तिनका योगदानलाई जीवन्त राख्न प्रतिमाको स्थापना गरिएको जानकारी दिनुभयो।
कार्यक्रमका लुम्बिनी वाङ्मय प्रतिष्ठानमा अध्यक्ष हिमलाल ज्ञवाली, साहित्यकारहरू धु्रव मधिकर्मी, हिरण्यकुमारी पाठक, परिषदका सचिव प्रद्युम्न जोशी, श्याम प्रधान, यादव भट्टराई, कपिल आरोग्य मन्दिरका अध्यक्ष शंकर आचार्य र साहित्य तीर्थ व्यवस्थापनका सचिव ऋषि आजादले वासु शशी र डा.कुमारबहादुर जोशी योगदानबारे चर्चा गर्दै कपिलधाममा एक सय एकजना दिवंगत स्रष्टाहरूको सालिक स्थापना गर्ने ऐतिहासिक कार्य योजनाको चर्चा गर्दै प्रशंसा पनि गर्नुभयो। कार्यक्रममा वासु शशीकी सुपुत्री निना जोशी तथा डा.जोशीकी धर्मपत्नी सरस्वती जोशीलगायत विभिन्न स्थानीय स्रष्टा एवं पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्