कोरोनाको त्रास: परीक्षालगत्तै बिदा



ईश्वरराज ढकाल
विश्वका करिब १ सय ३ मुलुकमा फैलिएको कोरोना भाइरसको आतंकले विश्वभरको जनजीवन अस्तव्यस्त हुन पुगेको छ। विशेष गरी व्यापार र पर्यटन क्षेत्रलाई खर्बौं रुपियाँको क्षति पु¥याएको छ। यसको असर नेपालमा पनि पर्न थालेको छ। विशेष गरी पर्यटकीय क्षेत्रमा ठूलो असर परेको छ।
व्यापार व्यावसाय बन्द छ। देशका मुख्य पर्यटकीय क्षेत्र सुनसान छन्। कोरोनाको त्रासले शिक्षण क्षेत्रमा ठूलो त्रास फैलिएको छ। शैक्षिक सत्र २०७७ को सरकारी भर्ना अभियान पूर्णरूपमा असर पर्ने देखिएको छ।
सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सरकारले चैत ५ गतेसम्ममा परीक्षा सम्पन्न गरेर केही दिन विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ। चैत ६ गतेदेखि सञ्चालन हुने एसईईबाहेकका विद्यालय तहका सबै परीक्षा ५ गतेसम्म सक्ने गरी तयारी भइरहेको छ। सरकारी र निजी विद्यालयले आजबाट परीक्षा लिन शुरू गरिसकेका छन्। करिब एक महिना बिदा दिने तयारीमा रहेका सबै निजी विद्यालयले भर्नालगायतका सबै कार्यक्रम एक महिना पछि सार्ने तयारी गरिरहेका छन्।
विद्यालयले सबै विद्यार्थी र अभिभावकलाई पत्र पठाएर सचेत रहन आग्रह गरिसकेका छन्। कोरोनाको त्रासका कारण मुलुकको शिक्षा क्षेत्र अस्तव्यस्त हुने सम्भावना बढेको छ। त्रिविअन्तर्गतका क्याम्पसमा चैत दोस्रो साताबाट परीक्षा हुँदैन।
त्यो परीक्षा लिने वा स्थगित गर्ने भन्ने विषयमा त्रिविले कुनै निर्णय गर्न सकेको छैन। भनौं नेपालको उच्च शिक्षासमेत अन्योल देखिएको छ। विद्यालयमा अभिभावक भेला, वार्षिक कार्यक्रम, पिकनिकलगायतका कुनै पनि भीडभाडजन्य कार्यक्रम नगर्न शिक्षा मन्त्रालयले सबै सरोकारवालालाई उर्दी जारी गरिरहेको छ।
विद्यालय बन्द गर्नु समाधान होइन
विद्यालय बन्द गरेर समस्याको समाधान हुँदैन। विद्यार्थीलाई जनचेतनाको कार्यक्रम सञ्चालन गर्न खटाउनुपर्छ। हामी त ५ गतेपछि विद्यालय बन्द गर्नुपर्छ भन्ने पक्षम छैनौं।
परीक्षा सकेलगत्तै विद्यालय खोल्नुपर्ने विषयमा पहलकदमी गरिरहेका छौं। समस्याको पहिचान गरी समाधान गर्नुपर्ने विषयलाई छाडेर सरकारले एकलौटी निर्णय गर्न थालेको छ। साना विद्यालय त बन्द गरौंला, लाखौं विद्यार्थी सहभागी हुने एसईईको विषयमा सरकारले आफ्नो ठोस धारणा सार्वजनिक गर्नुपर्छ।
चैत ५ गतेपछि बिदा दिने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै निर्णय गरेको छैन। हचुवाको भरमा परीक्षा सकेलगत्तै विद्यालय बन्द गर्ने भन्ने हल्ला चल्दै गएको छ। महासंघको धारणा यो छ कि विद्यालय बन्द होइन खोलेर जनचेतनामूलक कार्यक्रम चलाउनुपर्छ।
सरकारी विद्यालयले कोरोना भाइसरबाट बच्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। केही विद्यालयले पर्चा वितरण गरेका छन्। कुनैले त सार्वजनिकरूपमा अपिल गरेर अभियान चलाइरहेका छन्। केही विद्यालय आफैले विद्यालयमा सफाइ अभियान सञ्चालन गरेर चेतना जगाउने काम गरिरहेका छन्।
विषम अवस्थामा विद्यालय बन्द गर्नु उचित
महासंघको धारणा यो छ कि अहिले नै केही समयका लागि देशभरका शिक्षण संस्था बन्द गर्नुपर्छ। स्वाथ्यभन्दा परीक्षा ठूलो विषय होइन। केही दिन बिदा गरेर पुनः परीक्षा सञ्चालन गर्न विद्यालयलाई केही घाटा हुँदैन। विश्वविद्यालयको परीक्षा पनि त्यस्तै हो।
सरकारले भीडभाड गर्नुहुँदैन भन्ने अनि सयौं विद्यार्थी एकैठाउँमा बसेर दिइने एसईई परीक्षा यथावत्रूपमा सञ्चालन हुन्छ भन्नु गलत भएको छ। हामीले त यो आह्वान गर्छौं कि यस्तो विषम अवस्थामा कुनै पनि परीक्षा सञ्चालन गर्नु उचित हुँदैन।
अहिले १५ दिन वा महिना दिन विद्यालय बन्द गरौं त्यसपछि परीक्षा सञ्चालन, भर्ना अभियान सञ्चालन गरौं, यसमा कसैको आपत्ति हँुदैन।
सरकारले कक्षा १–९ को परीक्षा ५ गतेसम्म सक्ने गरी निर्देशन दिने अनि एसईई परीक्षा यथावत् रहने विषय सरासर गलत भएको छ। हामी यो भन्छौं कि यस्तो गम्भीर प्रकृतिको भाइरसले पु¥याउन सक्ने असरप्रति सबै चनाखो हुनु आवश्यक छ।
विद्यालयले पनि विद्यार्थीलाई अनिवार्यरूपमा माक्स लगाएर आउन आग्रह गर्नुपर्छ। सधैं हात धोएर मात्रै खानेकुरा खाऊ भनेर सिकाउनु जरुरी छ। अहिलेको अवस्थामा सबै सचेत भएर अघि बढेमात्र भाइरसको आक्रमणबाट जोगिन सकिन्छ
शिक्षा मन्त्रालयको अनुरोध
१. विद्यालय र शिक्षण संस्थाले संक्रमण फैलने तरिका र त्यसबाट बच्ने सम्बन्धमा देहायका कार्य गरी सचेतना जगाउने कार्यक्रम गर्ने
  • विद्यार्थीलाई हरेक दिन संक्रमणबाट बच्ने उपायबारे बताउने,
  •  कक्षा शिक्षकले विद्यार्थीलाई हरेक दिन कोरोना भाइरसबारे सूचना तथा जानकारी उपलब्ध गराउने,
  • संक्रमणबाट बच्ने उपायहरू सूचनापाटीमा टाँस गर्ने, छलफल गराउने, यसबाट पढ्न र छलफल गर्न विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने, 
  • कोरोना भाइरससम्बन्धी आधिकारिक सूचना दिने,
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतका वेबसाइटहरूको ठेगानाबारे जानकारी दिएर सबै विद्यार्थीलाई सूचित हुने अवस्था सिर्जना गर्ने,
  • स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने।
२. स्वास्थ्यका दृष्टिले सुरक्षित हुन देहायका बानी र व्यवहारहरू अवलम्बन गर्न सुझाव दिने
  • भीडभाड भएको ठाउँमा सकभर नजाने,
  • राम्ररी नपकाइएको माछा, मासु, सागसब्जी एवं खानेकुराहरू नखाने,
  • साबुन पानीले पटकपटक राम्ररी हात धुने,
  • खाना खाजा खानुपूर्व अनिवार्यरूपमा साबुन पानीले हात धुने,
  • हात नमिलाउने, अङ्कमाल नगर्ने, टाढैबाट नमस्कार गर्ने।
३. कुनै विद्यार्थीलाई ज्वरो रुघा, खोकी देखिएमा
  • विद्यालय र शिक्षण संस्थामा तत्काल अन्य विद्यार्थीबाट अलग्गै राख्ने,
  • अभिभावकलाई शीघ्र सम्पर्क गरी सुरक्षित तरिकाले जिम्मा लगाउने,
  • नजिकको स्वास्थ चौकी, अस्पताल वा चिकित्सकसँग सम्पर्क गरी उनीहरूको सल्लाहअनुसार उपचार गर्ने/गराउने, 
ज्वरो र रुघा–खोकी लागेका विद्यार्थी र तीनका परिवारका अन्य व्यक्तिलाई घरमा सुरक्षित तवरले अलग्गै ठाँउ (आइसोलेसन)मा राख्ने।
४. स्थिति सहज नभएसम्म अभिभावक भेला, वार्षिकोत्सव, सांस्कृतिक कार्यक्रमजस्ता समारोह आयोजना नगर्ने
५. सामूहिक पिकनिक वा शैक्षिक भ्रमणजस्ता कार्यक्रम स्थगन गर्ने
६. शिक्षण संस्थाहरूबीच सूचनाको नेटवर्क गर्ने
  • आधिकारिक सूचना एकै ठाउँबाट प्रवाह गर्ने व्यवस्था गर्न विद्यालय र शिक्षण संस्थामा फोकल पोइन्ट तोक्ने,
  • अनावश्यक हल्लाले विद्यार्थीलाई त्रसित बनाउन सक्नेतर्फ सचेत तुल्याउने,
  • संक्रमण भएमा स्वास्थ्य सेवा लिने तरिका एवं एकान्त र अलग्गै राख्ने र फैलन नदिने विधिबारे जानकारी दिने, 
सरकारी आधिकारिक निकायबाट आउने सूचना सबैमा प्रवाह गर्ने व्यवस्था प्रभावकारी पार्ने
सरकारको आग्रह मान्नुपर्छ
अहिलेको परिस्थितिमा सबै सरोकारवालाले सरकारले गरेको आग्रहलाई पालना गर्नु आवश्यक छ। मन्त्रालयले गरेको आग्रहलाई पालना गरे मात्रै आ–आफ्नो जिम्मेवारी पूरा गर्न सकिन्छ। अहिलेको अवस्थामा सरकारी वा निजी सबै विद्यालय र विश्वविद्यालयले जनचेतना अभिवृद्धि कार्यक्रम गर्नुको विकल्प छैन। नेपालमा कोरोना भित्रिएपछि हुने भयावह अवस्था कल्पना पनि गर्न सकिँदैन।
त्यस्तो अवस्था आउन नदिने सरकारले विभिन्न कार्यक्रम गरिरहेको छ। सबै शिक्षालयलाई चेतनामूलक कार्यक्रम गर्न आग्रह गरेका छौं। भीडभाडजन्य कार्यक्रम नगर्न आग्रह गरेका छौं। चैत ५ गतेसम्म परीक्षा सम्पन्न गरेर केही दिन विद्यालय बिदा गर्ने कि भनेर सल्लाह गरेका छौं। एसईईको परीक्षामा बढी संवेदनशील भएका छौं। परीक्षा केन्द्र वा पायक पर्ने क्षेत्र सबै केन्द्रमा हेल्थ डेक्स राख्ने तयारी गरेका छौं। सबैको सहयोगको अपेक्षा गरेका छौं।
विद्यालयमा हुने सबै कार्यक्रम बन्द
देशभरका निजी विद्यालयलाई चैत ५ गतेभित्र परीक्षा सम्पन्न गर्न पत्राचार गरेका छौं। विद्यालयमा कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेका छौं।
अभिभावक र विद्यार्थीलाई सतर्क रहन आह्वान गर्दै घरघरमा पत्राचार गरेका छौं। अनिवार्यरूपमा माक्स लगाएर विद्यालय आउन आग्रह गरेका छौं।
अधिक समय हात धुने, ह्यान्ड सेनिटाइजर प्रयोग गर्ने, कुरा गर्दा टाढैबाट गर्ने, सकभर एउटै भाँडामा धेरैजनाले खाना नखान आग्रह गरेका छौं।
विशेष गरी परीक्षा सकेलगत्तै करिब एक महिना बिदा दिने तयारी गरेका छौं। घरमै बस्न बिदा दिएको सम्झिएर घरबाहिर नजान आग्रह गरेका छौं। विशेष गरी सरकारले जनचेतनाको कार्यक्रमलाई घरघरमा पु¥याउने व्यवस्था गरे रोग लाग्नुअगावै रोकथाम गर्न सक्ने विषयमा आग्रह गरेका छौं।
स्वास्थ्य सामग्री सर्वसुलभ पार
विद्यार्थीलाई माक्स वितरण गर्न सकेका छैनौं। सरकारले कालोबजारी गर्नेमाथि नियन्त्रण गर्न नसक्दा स्वास्थ्यजन्य सामग्री माक्स, स्यानीटाइजर, औषधीलगायतका सामग्री अभाव हुँदै गएको छ।
विद्यार्थीलाई वितरण गर्ने सामग्री अभाव हुन नदिने विषयमा सरकारले कुनै योजना बनाउन सकेको छैन। रोकथाममा सहयोग गर्ने सामग्रीको चरम अभाव भइरहेको अवस्थामा सरकार मुकदर्शक बनिरहेको छ। यस्तो अवस्थामा हामीले कसरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भन्ने विषयमा अन्योल बढेको छ।
हामीले ५ गतेसम्म विद्यालयको परीक्षा सम्पन्न गर्ने योजना बनाएका छौं। तर करिब ५ लाख विद्यार्थी सहभागी हुने एसईई परीक्षाको विषयमा हुन सक्ने घटनाको बारेमा सरकारले योजना बनाउन सकेको छैन। अभिभावकलाई सचेतना दिन सरकारले घरदैलो अभियान सञ्चालन गर्नु जरुरी भइसकेको छ। एनप्याब्सनले सबै विद्यार्थी र अभिभावकलाई पर्चा वितरण गरेर सचेतनाको कार्यक्रम सञ्चालन गरेको छ। विशेष गरी सरकारले ठोस योजना ल्याएर सचेतनाको कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ।
सरकारको निर्देशन पालना गरेका छौं
सरकारले दिएका सबै निर्देशन पालना गरेका छौं। प्याब्सन आबद्ध सबै विद्यालयलाई नमुना पर्चा पठाएर सोहीअनुसार वितरण गर्न आग्रह गरेका छौं।
स्वाथ्य मन्त्रालयको सल्लाहमा विद्यालयमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं।
५ गतेसम्म परीक्षा सक्ने गरी सम्पूर्ण तयारी पूरा गरेका छौं। सबै जिल्ला समितिलाई कुनै पनि भिडभाड हुने कार्यक्रम आयोजना नगर्न आह्वान गरेका छौं।
सबै विद्यार्थीलाई माक्सलगाएर विद्यालय आउने व्यवस्था गर्न आह्वान गरेका छौं। समग्रमा देशको संवेदनशीलतासँग जोडिएका सबै विषयमा सबै निजी विद्यालय गम्भीर भएर लाग्ने र निर्देशन कार्यान्वयन गर्न लागिरहेका छौं।
तत्काल विद्यालय बन्द गर्नुपर्छ
हामी त परीक्षाअगावै विद्यालय बन्द गर्ने पक्षमा थियौं। सरकारको चाहना पनि त्यही थियो। तर त्यस्तो हुन सकेन। सरकारले परीक्षालाई पहिलो प्राथमिकता दिएर कोरोनाबाट हुन सक्ने संक्रमणलाई कम प्राथमिकतामा राखेको भान भएको छ।
विश्वभर आक्रान्त फैलाइरहेको कोरोनाको असर नेपालमा नपर्ला भन्न सकिँदैन। त्यसको पहिलो असर विद्यार्थी र त्यसपछि अभिभावकमा पर्ने भएकाले तत्कालका लागि विद्यालय बन्द गर्नुपर्ने पक्षमा थियौं।
तर ५ गतेसम्म परीक्षा सम्पन्न गरेर केही समय विद्यालय बन्द गर्ने तयारीमा एनप्याब्सन लागिपरेको छ। संवेदनशील विषयलाई हल्कारूपमा हेर्नु गलत हुन्छ। यदि कोरोना भाइरस भित्रियो भने नेपालमा ठूलो समस्या पर्छ। हल्ला मात्र चल्दा त माक्स, सेनिटाइजरलगायत औषधी अभाव हुन थालिसकेको छ। यदि भित्रियो भने क कस्तो अवस्था आउँछ भन्ने विषयमा कल्पना पनि गर्न सकिँदैन।
त्यसैले एनप्याब्सनको यो धारणा छ कि एक महिनापछि परीक्षा सञ्चालन गर्दा केही फरक पर्दैन। सबै तयारी भइरहेको अवस्थामा तत्काल एसईई परीक्षा केही समय पछि गर्दा कसैलाई असर पर्दैन।

प्रतिक्रिया दिनुहोस्