बुटवलले गर्यो पेट्रियोटिक र दमकसँग सम्झौता



नेपाल समाचारपत्र, काठमाडौं
पोखरा प्रिमियर लिगको फ्रञ्चाइज बुटवल ब्लास्टर्सले युवा क्रिकेटरहरूको विकासलाई लक्षित गर्दै झापाको पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर र दमक क्रिकेट क्लबसँग सम्झौता गरेको छ।
सम्झौताअनुसार बुटवलले पेट्रियोटिक र दमकसँग आबद्ध युवा क्रिकेटरहरूलाई आफ्नो प्रशिक्षण शिविरका साथै हाई पर्फर्मेन्स क्याम्पमा पनि सहभागी गराउनेछ। पेट्रियोटिक र दमकका खेलाडीहरूले बुटवलको लोगो आफूले प्रशिक्षण गर्दा र प्रतियोगितामा सहभागी हुँदाका जर्सीमा लगाउनेछन्।
बुटवलका प्रबन्ध निर्देशक अमित पोखरेल र दमक क्रिकेट क्लबका अध्यक्ष अबिस खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। एक वर्षे सम्झौताको अवधि दुवै पक्षको आपसी सहमतिमा थप्न पनि सकिनेछ।
‘यो सम्झौताले हामी निकै उत्साहित छौं। आफ्नो प्रतिभा प्रस्फुटनका लागि प्लेटफर्मको खोजीमा रहेका युवा खेलाडीहरूका लागि यो राम्रो मौका हो। आशा गरौं यो सम्झौताले नेपाली क्रिकेटको समग्र विकासमै सहयोग पुर्याउनेछ।’ –पेट्रियोटिकका अध्यक्ष रोशन धितालले भने।

प्रतिक्रिया दिनुहोस्