देशभरका व्यवसायीलाई कर तालिम दिइने



नेपाल समाचारपत्र, काठमाडौं 
साना तथा मझौला करदातालाई लक्षित गरी आन्तरिक राजस्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघबीच मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी हालै समझारी पत्रमा हस्ताक्षर भएको छ। अघिल्लो आर्थिक वर्षमा पनि विभाग र महासंघबीच सोही उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
समझदारी पत्रमा महासंघका अध्यक्ष भवानी राणा र विभागका महानिर्देशक विनोदबहादुर कुँवरले हस्ताक्षर गर्नुभयो। तालिमको माध्यमबाट करसम्बन्धी शिक्षा प्रदान गरी कर कानूनले निर्दिष्ट गरेका व्यवस्था परिपालना गर्न, कर फाराम भर्दा हुने त्रुटि कम गर्न तथा कर सहभागितामा व्यवसायीको अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो।
 अधिकांश साना व्यवसायीहरू आफू एक जनाले नै सबै काम हेर्ने हँुदा उनीहरूलाई आर्थिक ऐनले गरेका छुट, सुविधा तथा व्यवस्थाको बारेमा जानकारी गराउनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
सन् २०१५ देखि जीआइजेडको राजस्व प्रशासन सहयोगको प्राविधिक सहयोगमा निरन्तर रूपमा विभिन्न जिल्लामा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क सम्बन्धी तालीम सञ्चालन हुंँदै आएको छ।
सोही कार्यक्रमअन्तर्गत हालसम्म विभिन्न ३९ जिल्लामा ४६ वटा तालिम कार्यक्रम सञ्चालन भएका र पछिल्लो चरण (२०७६ भदौदेखि फागुनसम्म) मा मात्र सातै प्रदेश समेटिने गरी २० जिल्लामा २१ वटा तालिम कार्यक्रम सञ्चालन हुने छ। २१ वटा तालिममध्ये २ वटा तालिम महिला उद्यमीलाई मात्र लक्षित गरेर सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्