दाना–कुश्मा प्रसारण लाइन वैशाखभित्रै बिजुली खेर गए ठेकेदारले जरिवाना तिर्नुपर्छ ः घिसिङ



नेपाल समाचारपत्र, काठमाडौं 
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानाबाट पर्वतको कुश्मासम्मको खण्ड वैशाखभित्रमा सञ्चालनमा आउने भएको छ। ३९ किलोमिटर दाना–कुश्मा २२० केभी प्रसारण लाइन तथा दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ।
प्रसारण लाइन र सबस्टेसन वैशाखभित्र चार्ज गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ। दाना–कुश्मा खण्डमा पर्ने १ सय १० टावरमध्ये २ वटा मात्रै खडा गर्न बाँकी छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले २ वटा टावर खडा गर्न रोकिएको काम अहिले सहमति जुटेपछि धमाधम भइरहेको छ।
पोखरीबगर र कुुश्मा नगरपालिकाको पाँगामा गरी करिब २ किलोमिटर मात्रै तार टाँग्न बाँकी छ। दुवै सबस्टेसनमा उपकरणहरू जडान भइसकेका छन्। यही प्रसारण लाइनमा निजी क्षेत्रद्वारा निर्माण हुँदै गरेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ। निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको विद्युत् दाना सबस्टेसनमा जोडिने छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालसहितको टोलीले सोमबार प्रसारण लाइन, सबस्टेसन र जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ। टोलीले प्रसारण लाइन निर्माणमा पोखरीबगर र कुश्मामा हुनसक्ने सम्भावित अवरोध हटाउन आवश्यक व्यवस्था गरिदिन म्याग्दी र पर्वतका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारीहरूले राष्ट्रिय महत्वको आयोजनाको टावर रहने जग्गाको मुआब्जा, लाइनको दायाँ बायाँको क्षतिपूर्ति निर्धारण र निर्माण सम्पन्न गर्न आवश्यक परेमा सुरक्षा व्यवस्था उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ।
टोलीले निर्माणमा खटिएका आयोजना व्यवस्थापन र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग छलफल गरी निर्माणमा देखिएका समस्या, सबस्टेसन तथा लाइन चार्ज गर्ने मितिलगायतका विषयमा छलफल गरी वैशाखभित्रमा काम सक्न निर्देशन दिएको छ। ‘लाइन र सबस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने मिस्त्री खोलाको विद्युत् जोड्न नसकी खेर फाल्नुपर्ने अवस्था छ, त्यस्तो अवस्था आउन नदिन सबै पक्ष गम्भीर र जिम्मेवार भएर बाँकी काम जतिसक्दो छिट्टै सम्पन्न गर्नुपर्ने छ, विद्युत् खेर फालेर पेनाल्टी तिर्नुपर्ने अवस्था आएमा यसको मूल्य ठेकेदार कम्पनीले तिर्नुपर्ने छ,’ घिसिङले निर्देशन दिँंदै भन्नुभयो– ‘केही ठाउँमा निर्माणमा भइरहेको अवरोध हटाएर काम गर्न साइट उपलब्ध उराउँछौं, ठेकेदार कम्पनी निर्माणमा गम्भीर भएर लाग्नु प¥यो।’ ठेकेदार कम्पनीले वैशाखभित्रमा लाइन तथा सबस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ।
मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा केही उपकरणहरूको जडान, संरचना र उपकरणको ड्राइ तथा वेट टेष्ट बाँकी नै रहेकाले अझै विद्युत् उत्पादन गर्न कम्तीमा पनि दुई महिना लाग्ने उल्लेख गर्दै उहाँले त्यतिबेलासम्ममा प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आइसक्ने बताउनुभयो। कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरु गरिएको हो।

प्रतिक्रिया दिनुहोस्