तानसेनको सडकमा मार्बल



पाल्पा, (नेस)

ऐतिहासिक र पुरातात्विक महत्वको नेपालकै पुरानो शहरमध्येको एक मानिने तानसेनलाई पर्यटकीय गन्तव्य र सुन्दर शहरका रूपमा विकसित गर्ने सोचका साथ नगरपालिकाले सडकमा प्लास्टर र पिच उप्काएर मार्बल छाप्न थालेको छ।

शहरको स्वरूपलाई नै परिवर्तन गर्ने गरी तानसेनको मुटु मानिने तानसेनको दरबारमार्ग सडक अर्थात् बैंकरोड (मखनटोल) मा मार्बल (फ्लास स्टोन) छाप्न थालिएको हो। पछिल्लो समयमा मार्वलका कारणले गर्दा सडक चिटिक्क देखिई यसको स्वरूपमै नयाँपन देखिन थालेको छ।

‘यसले गर्दा सडक टल्किँदै गएको र फराकिलो र आर्कषक पनि भएको छ’, स्थानीय व्यापारी सूर्य नेपालले भन्नुभयो– ‘सडकको स्वरूप नै बदलिएको छ।’

यसअघि यहाँको सडकमा रहेको पिच र इँटाको बाटो थियो। जसलाई भत्काएर ढुंगा छाप्ने (फ्ल्यास स्टोन) विछ्याउने काम विगत दुई महिनादेखि तीव्र गतिमा चलेको छ। जसले गर्दा सडक क्षेत्र आर्कषक बन्दै गएको छ। तानसेनका सडकमा पर्यटकलाई आकर्षित गर्न भगवती मन्दिरदेखि एनआईसी बैंकसम्म पहिलो चरणमा मार्वल छाप्ने काम दु्रतरूपमा गरिएको तानसेन नगरका प्रमुख अशोककुमार शाहीले बताउनुभयो।

ढुंगा छाप्ने कामका लागि सीएम शिवालय जेभि बानेश्वरलाई रु १ करोड ८३ लाख ११ हजार ४ सय ५५ मा ठेक्का दिइएको छ। उक्त क्षेत्रमा ढुंगा सोलिंग ५ सय ८९ घनमिटर, पीसीसी ९२ घनमिटर, ढुंगा छाप्ने काम ३ हजार ८ सय ८० वर्गमिटर गर्ने गरी ठेक्का दिइएको तानसेन नगरपालिकाले जनाएको छ।

‘पहिलेदेखि नै पर्यटकीय नगरका रूपमा ख्याति कमाएको तानसेन नगरपालिका अझ खासगरी यहाँको दरबारमार्ग क्षेत्रलाई पर्यटकमैत्री बनाउने योजनाअनुरूप यो कार्य भएको हो।’ –नगरप्रम्ुख शाहीले भन्नुभयो।

उहाँले पहिलो चरणमा सित्तलपाटी र भगवती मन्दिरको गेटमा र दरबारमार्ग (सडक) मा छापिएको छ, त्यसपछि यसलाई अन्य क्षेत्रमा पनि बिस्तारै अगाडि बढाउँदै लगिने जानकारी दिनुभयो।

त्यसो त ढुंगा छाप्दा पुरानो सडक भत्काउनुपर्ने र कतिपय साँघुरो स्थानमा घरहरु हल्लिने भन्दै स्थानीय घरधनीले केही विरोधसमेत गरेका थिए भने कतिपयले तानसेन नगरपालिकाले राम्रो सडकमा बजेट सक्न र सस्तो लोकप्रियताका लागि काम गरेको आरोप पनि केहीले लगाएका छन्।
नगरप्रमुख शाही नगरको दीर्घकालीन योजनाको काम भएकाले यस्ता विरोधको कुनै अर्थ नहुने बताउनुहुन्छ।

उहाँले नगरको सडक चौडा पार्ने र मुख्य क्षेत्र मखनटोललाई व्यवस्थित गर्ने योजना बनाएको बताउनुभयो। उहाँले स्थानीय र व्यवसायीसँग छलफल गरेर मखनटोल दरबार क्षेत्रमा रहेको सार्वजनिक र केही व्यक्तिका नामका सटरलाई भत्काएर व्यवस्थित बनाउने लक्ष्य रहेको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्