कोरोना भाइरस : सङ्क्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु



इरान । इरानमा कोरोनाभाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ इरानीहरूको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ।

देशको दक्षिण पश्चिममा पर्ने खुजिस्तान प्रान्तको अभाज शहरमा उक्त घटना घटेको हो।उक्त समाचारका अनुसार “मिसावटयुक्त त्यस्तो रक्सी पिउने अवस्था त्यसले कोरोनाभाइरसबाट बचाउँछ भन्ने हल्लाकाबीच भएको थियो।”

सात जना पक्राउ

आइआरएनएसँगको अन्तर्वार्तामा अभाज जोन्डी सपुर युनिभर्सिटीका प्रवक्ता डाक्टर अली इसानपोरले भनेस् “अहिलेसम्म २७० जना उपचारका लागि देशका अस्पतालमा भर्ना भएका छन्।”
आइआरएनमै सहायक सार्वजनिक अभियोजनकर्ता अली विरनभन्दलाई उद्धत गर्दै त्यस्तो रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको जनाइएको छ।

कोरोनाभाइरसको सङ्क्रमणबाट ठूलो असर पुगेको इरानमा एक दिनमै मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ।

इरानको पछिल्लो अवस्था

इरानमा २४ घण्टामा धेरै मृत्यु भएको यो अहिलेसम्मकै उच्च सङ्ख्या हो।यससँगै इरानमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २९१ पुगेको छ।

नयाँ सङ्क्रमण थप ८८१ जनामा देखिएसँगै इरानमा सङ्क्रमितको सङ्ख्या ८,०४२ पुगेको छ।
बिबिसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्