विद्यार्थीलाई निःशुल्क मास्क र साबुन



बनेपा । 

कोरोना भाइरस ९कोभिड–१९० को सन्त्रासले बजारमा मास्क अभाव भएको ठाउँमा धेरै मूल्य लिन थालेपछि यहाँको वडा कार्यालयको नेतृत्वमा त्यसको उत्पादन गरी विद्यार्थीलाई मास्कसँगै साबुन निःशुल्क रुपमा वितरण गर्न थालिएको छ । बालमैत्री वडा घोषणा गरिरकेको काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका–१० ले वडा अध्यक्ष पुष्पराज राउतको नेतृत्वमा वडाको तर्फबाट कपडा खरिद गरी स्थानीय व्यक्तिहरुबाट नै मास्क उत्पादन गर्न लगाई वडाभित्रको कालिका माध्यमिक विद्यालय र बालज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई आजबाट निःशुल्क रुपमा वितरण शुरु गरेको हो ।

विश्वमा नै फैलिदो अवस्थामा रहेको कोरोना भाइरस( कोभिड–१९)को सन्त्रास बढिरहेको बेला हाम्रा बजारमा मास्क किन्न नै नपाइने र भएको ठाउँमा धेरै पैसा तिरेर किन्नुपर्ने अवस्था सिर्जना भएकाले स्थानीयस्तरमा नै उत्पदान गरेर विद्यालयका विद्यार्थीलाई वितरण गर्न शुरु गरेको वडाध्यक्ष पुष्पराज राउतले बताउनुभयो । उहाँले भन्नुभयो, “यो एउटा सामाजिक सचेतनाको लागि स्वास्थ्यको कार्यक्रम भएको र बालमैत्री वडा भएकाले स्थानीय उत्पादनबाट आत्मनिर्भर हुन सकिन्छ भन्ने उदारहण प्रस्तुत गर्दै विद्यालयबाट शुरु गरेका हौँ, यसले कुनै समस्या आइपर्दा आफैँ सचेत र सजग रहन र बन्न सक्छौँ भन्ने उदाहरण भएको छ ।”

दिएको कुराले सधैँ परिपूर्ति हुने नभई त्यसले एउटा सचेतनाको अभियान शुभारम्भ भएको नमूनाको रुपमा लिन वडाध्यक्ष राउतले आग्रह गर्नुभयो । शुरुमा नमूनाको रुपमा प्रस्तुत भएको सो अभियान सफल भएपछि वडाभित्रका करिब दूई हजार ८०० जनसङ्ख्यालाई नै वितरण गर्ने योजनामा रहेको राउतले बताउनुभयो । स्थानीय जनशक्तिबाट कपडा र सिलाइ ज्याला गरी प्रति थान १२ रुपैयाँमा सो मास्क तयार भएको जनाइएको छ ।

धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले मास्कले सबै भाइरस थेग्न सक्ने भन्ने नभई यो एउटा व्यक्तिगत सरसफाइमा सचेत छ भन्ने उदारहण मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा यो भाइरस आइनसकेको अवस्था भएकाले डराउने तर नतर्सिन आग्रह गर्दछु । “उपचार गर्नुभन्दा रोकथाम गर्नु राम्रो भएकाले यो सचेतनाको नमूना भएको केसीको भनाइ छ । सो अवसरमा उहाँले रुघाखोकीभन्दा अलि फरक लक्षण देखिने भएकाले सचेत रहन र सामान्य त्यस्तै लक्षण देखापरेको अवस्थामा तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारको लागि लैजान सुझाव दिनुभयो ।

सबैभन्दा बढी दूषित वस्तु भनेको मानिसको हात भएकाले साबुन पानीले हातलाई सधैँ सफा राख्न उहाँले आग्रह गर्नुभयो । सो क्रममा कालिका माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थी गरी २७० जना र बालज्योति आधारभूत विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थी गरी १४४ जनालाई एक वटा मास्क र एउटा साबुन निःशुल्क रुपमा वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्