कोरोना संक्रमणविरुद्धकाे तयारीका बारेमा पर्वत अस्पतालको अनुगमन

प्रभावकारी तयारी गर्न साँसदको आग्रह



दुर्गाप्रसाद शर्मा, पर्वत । 

बिश्वभर फैलिएको कोरना भाइरसको संक्रमण नेपालमा फैलिएको अबस्थामा गर्नुपर्ने पुर्व तयारीका बारेमा प्रतिनिधि सभा सदस्य पदम गिरी सहितको टोलीले पर्वत जिल्ला अस्पतालको अनुगमन गरेको छ ।

संक्रमणको रुपमा फैलदै गरेको कोरोना (कोभिड–१९) विरुद्ध जिल्लामा भैरहेको तयारीका बारेमा जानकारी लिन सांसद सहितको टोलीले पर्वत जिल्ला अस्पतालको अनुगमन गरेको हो ।

चिनको वुहान प्रान्तबाट फैलिएको भाइरसले नेपालमामा पनि भित्रनसक्ने र त्यसले पर्वत जिल्लाबासीलाई समेत प्रभावित पार्न सक्ने भन्दै सांसद गिरीले प्रभावकारीमा तयारीमा लाग्न आग्रह गर्नुभएको हो । अहिले सम्म भएको तयारीले संक्रमण भएको अबस्थामा आउने चुनौतीलाई सामना गर्न कठिन भएकाले सबैखाले तयारी गर्न स्थानिय प्रशासन, स्वास्थ्य संस्था र सबैलाई उहाँले आग्रह गर्नुभयो ।

‘चीनबाट नेपाल फर्केका एक युवालाई भाइरस देखिएको पुष्टि भईसकेकाले नेपालमा यो संक्रमण फैलनसक्ने उच्च सम्भावना रहेको हुँदा संभब भएका सबै उपाय अबलम्बन गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘त्यसका लागि आबश्यक जनशक्ति, स्रोत साधनको ब्यबस्थापनका लागि सबै निकायमा मैले पनि पहल गर्छु। ’
पर्वत जिल्लामा कोरना संक्रमण भएको अबस्थामा अबलम्बन गरिने रणनितीका बारेमा एक साता अघि भएको सरोकारवालाको बैठकले गरेका निर्णयका बारेमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी गराउनुभएको थियो ।

पर्वत जिल्ला अस्पतालमा ५ बेडको आइसोलेसन वार्ड तयार गर्ने, उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीका लागि आबश्यक पोशाक सहितको सामाग्री माग गर्ने, बजार अनुगमन गर्ने र कृतिम अभाब हुन नदिेने तथा सचेतनाका लागि प्रचारप्रसरमा ध्यान दिने निर्णय गरेको थियो ।

पर्वत जिल्ला अस्पतालमा पाँच बेडको आइसोलेसन वार्ड एक हप्ताभित्र तयार गर्ने भनिएपनि तयार नभएको हुँदा तत्काल ३ बेडकै भएपनि वार्ड तयार गर्ने अस्पतालका निमित्त प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

विरामीको परिक्षण र जाँचका लागि आवश्यक सुरक्षा ड्रेसहरु हालसम्म पनि जिल्ला उपलब्ध नभएका कारण विरामी परिक्षणका लागि तयार गर्न कठिन भएको तर्फ उहाँले ध्यानाकर्षण गरानुभएको थियो ।

उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, पर्वत अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडी लगायले तयारीका बारेमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्