धुलिखेलको शारदा बतासेमा वडा कार्यालयद्वारा विद्यार्थीलाई ‘माक्स र साबुन’ वितरण



मोतीराम तिमल्सिना, काभ्रे । 

स्थानीय तह आफै कोरोना संक्रमण रोक्न सचेतना अभियानमा जुटेका छन् । धुलिखेल नगरपालिका वडा नम्वर १० शारदा बतासेले वडा कार्यालय क्षेत्रका नागरिकहरुलाई घरेलु माक्स उत्पादन गरी माक्स र साबुन वितरण गरेको छ ।

‘जनउत्तरदायी, सामाजिक सचेतना र उत्तरदायित्व बहन गर्ने उदेश्यले वडा कार्यालयको आफ्नै बजेटमा पहिलो चरणमा विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाहरुका लागि माक्स र एउटा साबुन वितरण गरेका हौ’–वडा अध्यक्ष पुष्पराज राउतले बताउनु भयो–‘विद्यालय तहमा अध्ययन गर्ने चार सय बालबालिकाहरुले उक्त माक्स प्रयोग गर्ने र साबुन पानीले पटक पटक हात धुने गर्दा घर परिवार र समाजमा सचेतना फैलन सहयोग पुग्छ ।’ धुलिखेल नगरपालिकाका वडा नम्वर १० लाई प्रदेश स्तरको तेश्रो बालमैत्री वडा घोषणा गरिएको थियो ।

वडा भित्र रहेको कालिका मावीमा अध्ययन गर्ने विद्यार्थी र शिक्षक सहित २ सय ७० जना र बाल ज्योती आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र शिक्षक समेत गरी १ सय ४४ जनालाई वडा कार्यालयले सुतिको कपडा खरिद गरी स्थानीय स्तरमै तयार गरिएको दुई लेयरको माक्स र साबुन उपलब्ध गराईएको छ । प्रति पिस माक्सको १२ रुपैया परेको छ भने साबुनको १७ रुपैया परेको छ । आवश्यक पर्‍यो भने वडामा रहेका २ हजार ७ सय नागरिकहरु सबैलाई माक्स र साबुन उपलब्ध गराउने तयारी वडा कार्यालयले गरेको अध्यक्ष राउतले बताउनु भयो । धेरै संख्यामा उत्पादन गर्दा लागत मुल्य कम हुन जाने अध्यक्ष राउतले बताउनु भयो ।

‘बजारमा माक्स अभाव हुने र माक्सले मात्रै कोरोना भाईरस रोक्न नसक्ने हुँदा सचेतनाका लागि विद्यालय तहबाट उक्त कार्यक्रम शुरु गरेका हौं’–अध्यक्ष राउतले भन्नुभयो–‘नियमित हात धुन लगाउने र बालमैत्री वडामा आफै आत्मनिर्भर हुन सक्ने सन्देश दिन पनि यो अभियान शुरु गरेका छौं ।’

वडा कार्यालयले नाागरिकहरुको स्वास्थ्यलाई ध्यान दिदै गर्भ देखि जेष्ठ नागरिकसम्मलाई सेवा प्रदान गरेको छ । महिला गर्भवती भए देखि नियमित जाँच, खोप र शिविर मार्फत औषधी उपचारका लागि सहयोग पुर्‍याएको छ । गर्भ जाँच नियमित गराउने र बच्चालाई नियमित खोप लगाउने आमाहरुका लागि पोषण सहित बालबालिकाहरुलाई कपडा उपलब्ध गराईएको छ । प्रत्येक महिनाको १५ गते जेष्ठ नागरिक क्लिनिक शिविर संचालन भईरहेको छ । अभिभावक शिक्षा, बालमैत्री शिक्षा, चित्रकला, खेलकुद, सरसफाई अभियान, स्वास्थ्य क्लिनिक, बालमैत्री बृक्षारोपण, बालमैत्री पार्क, बाल क्लव लगायतका बालबाकिलाहरुका लागि हरेक महिनामा एउटा कार्यक्रम संचालन भईरहेको अध्यक्ष राउतले बताउनु भयो । सुत्केरी महिलालाई २ हजार ३ सयको सुत्केरी मसला उपलब्ध गराउने गरिएको छ ।

बालमैत्री वडा घोषणासँगै बालमैत्री ब्यवहार कायम राख्न हप्ताको सात दिन नै एक विद्यार्थीलाई एक कार्यक्रममा सहभागि गराई आवश्यक पर्ने शैक्षिक सामाग्री वितरण गरिएको छ । बालज्योती आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुका लागि निशुल्क खाजाको ब्यवस्था गरिएको छ भने कालिका मावीमा अध्ययन गर्ने प्राथमिक तहका विद्यार्थीहरुलाई खाजाको ब्यवस्था गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, वडा स्वास्थ्य चौकीका इन्चार्ज इश्वर सापकोटा, वडा सदस्यहरु, विद्यालयका प्रधानाध्यापकहरु, स्थानीय तथा बालबालिकाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्