माइती नेपालद्वारा लमजुङका दुई होमस्टे सञ्चालक सम्मानित



शिक्षा पन्त, लमजुङ ।

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा माईती नेपालले लमजुङका दुईजना होमस्टे सञ्चालकहरुलाई सम्मान गरेको छ ।

महिलाहरुको क्षेत्रमा काम गर्दै आएको माईती नेपालले गाउँशहरस्थित काउलेपानी होमस्टे सञ्चालिका तिलमाया गुरुङ र उत्तरी लमजुङको मस्र्याङदी–५, खानीगाउँस्थित रकगार्डेन सामूदायिक होमस्टेकी अध्यक्ष सिता गुरुङलाई सम्मान गरेको हो ।

पूर्व प्रदेश प्रमुख समेत रहनुभएको माइती नेपालका संस्थापक अनुराधा कोइराला, व्यवसायी सिर्जना राणा र लेखक कर्ण शाक्यले संयुक्त रुपमा उनीहरुलाई सम्मानित गर्नुभएको हो । व्यवसायिक होमस्टे सञ्चालन तथा अन्य सामाजिक सँस्थामा नेतृत्व गरी महिलाहरुको आयआर्जन एवं सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान दिएको भन्दै गुरुङद्धय सम्मानित भएका हुन् । नगद सहित कदरपत्रले गुरुङद्धय सम्मानित भएका हुन् । गाउँघरमा संघर्ष गरेर होमस्टे खोल्ने महिलाहरु सामुदायिक उद्यमका उदारणीय पात्रहरु भएको भन्दै स्थानीय पर्यटन प्रर्वद्धन देखि संस्कृतिको जगेर्ना र महिला सशक्तीकरणमा उनिहरुको भूमिका महत्वदिँदै सम्मान गरेको सँस्थाले जनाएको छ ।

तिलमाया गुरुङ नेपालकै उत्कृष्ट काउलेपानी होमस्टेकी सञ्चालक हुन भने सिता गुरुङ नेपालकै पहिलो रक गार्डेन रहेको घेर्मुको खानीगाउँस्थित रक गार्डेन ससामूदायिक होमस्टेको अध्यक्ष हुनुहुन्छ । सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई समेत सहयोग पुर्याउने उद्देश्यले उनीहरुलाई सम्मानित गरिएको माईती नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्