व्यवस्थित फुटपाथ 



तनहुँ, (नेस)

दमौली बजार क्षेत्रको फुटपाथ व्यवस्थापनमा व्यास नगरपालिका जुटेको छ । पृथ्वी राजमार्ग वरपरको क्षेत्रमा गरिने फुटपाथ बजारले पैदलयात्रुलाई समस्या हुने भएकाले नगरपालिका व्यवस्थापनमा जुटेको हो । बजार क्षेत्रमा सवारीको चापसँगै फुटपाथको व्यापारले समस्या उत्पन्न भएपछि सहज बनाउने उद्देश्यले व्यवस्थापनमा लागेको व्यास नगरपालिकाले बताएको छ ।

‘ग्रिन सिटी टोल, कालिकामार्ग, शीतलमार्ग, न्युरोडको फुटपाथ व्यवस्थापन गरिसकेको छ’, नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले भन्नुभयो– ‘सडकपेटीमा गरिएको व्यवसायले पैदलयात्रुमा समस्याका साथै दुर्घटना समेत निम्तिएकाले यसलाई व्यवस्थापन गर्न दमौली अस्पताल जाने बाटोको छेउमा फुटपाथ व्यापारका लागि टहरा निर्माण गरेका छौं ।’

यति बेला तरकारी लाइनमा सडकपेटी र फुटपाथलाई व्यवस्थापन गर्ने काम भइरहेको व्यास नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक आशिक परियारले बताउनुभयो । ती क्षेत्रहरुमा सवारीसाधन एकतर्फी पार्किङ गर्ने व्यवस्था मिलाइएको बताउँदै उहाँले भन्नुभयो–‘यात्रुहरुलाई सडक पेटीबाट हिँड्न सचेत गराउएका छांै ।’ बजार क्षेत्रको चौतारो, घरको सडक पेटीमा हुने गरेका व्यवसाय अहिले व्यवस्थित हुँदै गएको छ ।

दमौली अस्पताल र उत्तरशिला चलचित्र हल नजिकै फुटपाथे व्यापारीहरुलाई बसेर व्यवसाय गर्ने व्यवस्था मिलाइएको छ । ती क्षेत्रमा टहरो निर्माण गरी फुटपाथे व्यवसायीहरुलाई व्यवस्थापन गरिएको हो । व्यास नगरपालिका सरसफाई उपशाखाका प्रमुख भाग्यशाली ढुंगानाले पनि फुटपाथका व्यापारीहरुलाई व्यवस्थित गर्ने कार्यले बजारलाई स्वच्छ, सफा र सुन्दर शहर बनाउने नगरपालिकाको परिकल्पना पूरा हुने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्