आश्रमलाई मुख्यमन्त्रीको सहयोग



लमजुङ, (नेस)
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको छ । बेंसीशहर नगरपालिका–७ हाइस्कुल चोकमा रहेको आश्रमको उहाँले आइतबार अवलोकन गर्ने क्रममा उक्त घोषणा गर्नुभएको हो ।
‘आश्रमले सडक मानवको उद्धार गरेको छ । हेरचाह गरेको छ । उनीहरुलाई नयाँ जीवन दिएको छ’, उहाँले भन्नुभयो– ‘यो काम सरकारबाट हुनुपर्नेमा एउटा संस्थाले गर्दै आएको छ । यो राम्रो काम हो । सडक मानवको जीवनयापनमा सहज बनाउन मैले पनि सहयोग गरेको हुँ ।’ सडक मानवको उद्धार गरी पालनपोषण गर्दै आएको मानव सेवा आश्रमको उहाँले प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि मासिक १ हजार रुपियाँ प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले गण्डकी प्रदेश सरकारले सडक मानवका लागि सहयोग गर्दै आएको र बेंसीसहरका लागि पनि सहयोग गर्ने बताउनुभयो ।
आश्रमको भवन बनाउनका लागि प्रदेशले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । सोही अवसरमा बाल सपना समाज लमजुङले आश्रमका लागि करिव ५ रोपनी जग्गा दान गर्ने घोषणा गरेको छ । समाजका अध्यक्ष डा. बालकृष्ण बरालले बेंसीसहर नगरपालिका–८ पाखाथोकमा संस्थाको नाममा रहेको जग्गा दान गर्ने बताउनुभयो ।
मानव सेवा आश्रमको आफ्नै भवन नहुँदा भाडामा बस्दै आएको छ । साँघुरो ठाउँमा सडक मानवको पालनपोषण र हेरचाहमा समस्या भएको आश्रमकी संयोजक अनिता अधिकारीले बताउनुभयो । आश्रमलाई जग्गा प्राप्त भएपछि भवन निर्माणको प्रक्रिया थालिने उहाँले बताउनुभयो । ‘जतिपनि बेवारिसे अवस्थामा भेटिएका मानवलाई उद्धार गरेका छौं । आश्रममा ल्याएका छौं । ठाउँ सानो हुँदा कार्यालय सञ्चालनमा समस्या छ’, उहाँले भन्नुभयो– ‘अब जग्गा पनि पाउँदै छौं । प्रदेशले भवन निर्माणमा सहयोग गर्छु भनेको छ । यो सडक मानव र हाम्रा लागि खुसीको कुरा हो । ’
कुनै पनि व्यक्ति एकसरो कपडा लगाएर सडकमा हिँड्न नपरोस्, पालनपोषणको अभाव नहोस् भन्ने उद्देश्यका साथ मानव सेवा आश्रम लागेको संयोजक अधिकारीले बताउनुभयो । १८ जनालाई परिवारमा पुनर्मिलन गराएको छ । मानव सेवा आश्रमका हाल १८ जना सडक मानव आश्रित छन् । आश्रमले हालसम्म ६० जना सडक मानवलाई सेवा दिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्