किसानमुखी योजना बनाउँदै बैंक



स्याङ्जा, (नेस)

कृषि विकास बैंक चापाकोट शाखाले स्थानीय दुध संकलन गर्ने सहकारीलाई सामाग्री सहयोग गरेको छ ।
बैंक नाफामुखी मात्रै होइन सहयोगी भावनाको पनि हुन्छ भन्ने सन्देशसँगै बैंकले साना किसान सहकारीलाई सामाग्री सहयोग गरेको हो । सामाजिक उत्तरदायित्वमा बैंकले कुनै भूमिका निभाउन सकेनन् भन्ने आलोचना खेपिरहेका बेला कृषि विकास बैंकको यो सहयोगले बैंकलाई थप उचाइमा पु¥याएको सरोकारवालहरुको भनाइ थियो ।
चापाकोट नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना गरिएको वडा नम्वर ८ स्थित रत्नपुर साना किसान कृषि सहकारीबाट सञ्चालित दूध संकलन तथा चिस्यान केन्द्रलाई सामाजिक उत्तरदायीत्वअन्तर्गत कृषि विकास बैंकले दुध संकलन केन्द्रलाई दुई थान डि फ्रिज, दुध बोक्ने क्यान ५ थान र पनिर बनाउन सहज हुने पनिर ड्राई १ थान सहयोग गरेको हो ।
दुई वर्षअघि मात्रै स्थापना गरेको सहकारीले यहाँका किसानको दुध संकलन गरेर आय–आर्जनमा टेवा पु¥याउँदै आएको छ । बैंकले वित्तिय साक्षरतासँगै सहयोगी मन लिएर जनताको घर आँगनमा आएको चापाकोट नगर उपप्रमुख विमला श्रेष्ठले बताउनुभयो । ‘सामान पाउनुभन्दा जोगाउनु ठुलो र पैसा कमाउनुभन्दा बचाउनु ठुलो हो’, उपप्रमुख श्रेष्ठले भन्नुभयो– ‘किसानको हौसलासँगै जागर बढाउन यो सहयोगी भावले मद्दत पुग्नेछ ।’
सरकारले कृषिमा आत्मनिर्भर नबनाए सम्म देशलाई समृद्ध बनाउन सकिदैन भन्ने लक्ष्य अनुरुप बैंकले चापाकोटका किसानहरुले संचालन गरेको दुध संकलन केन्द्रलाई चाहिने सामाग्री सहयोग गरेको बैंकका गण्डकी प्रदेशका प्रमुख करणचन्द्र घिमिरेले बताउनुभयो ।
१६० शेयर सदस्यबाट शुरु गरिएको सहकारीले ६० जना किसानको २ सय ५० लिटर दुध दैनिकरुपमा संकलन गर्दै आएको छ । संकलन गरिएको दुध चापाकोट नगरपालिकामा नै खपत हुने गरेको सहकारीले जनाएको छ । बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत खानेपानी, शिक्षा, पाटीपौवा, स्वास्थ्य लगायतमा सहयोगी भुमिका खेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्