कोरोना सम्वन्धि सचेतना र अनुगमन



अमृत अर्याल, स्याङ्जा ।

कोरोना भाईरसका कारण औषधी पसलमा कालोबजारी बढेको खबरहरु आउन थालेपनि स्याङ्जामा पनि अनुगमन थालिएको छ । हरेक स्थानीयतहका स्वास्थ्य शाखाहरुलाई जिल्ला समन्वय समिति र जिल्ला प्रशासनले चनाखो रहन र चासो राख्न निर्देशन दिए अनुसार औषधी पसलहरुमा अनुगमन थालिएको हो ।

वालिङ नगरपालिकाले नगरपालिका भित्र रहेका स्वास्थ्य संस्था र औषधी पसलहरुमा अनुगमन सँगै सचेतना गराइएको छ । वालिङ नगरका नगरप्रमुख दिलिपप्रताप खाँणको नेतृत्वमा खटिएको टोलीले औषधी पसलमा औषधीको अभाव, मास्कको अवस्था लगायतका बारेमा अनुगमन र सचेतना गराइएको थियो ।

कोरोना भाइरसको जोखिमबाट बच्न मास्कको प्रयोग गर्ने स्वास्थ्य संस्थाको अनुरोध सँगै मास्कमा देखिएको कालोबजारी र वास्तविक अवस्थाको बारेमा अनुगमन थालिएको वालिङ नगर स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनुभयो ।

नेपाल उच्च जोखिममा रहेको बताइएपनि आत्तिहाल्नु पर्ने अवस्था छैन तर सावधानी भने रहनु आवश्यक छ स्वास्थ्य प्रमुख पाण्डेले भन्नुभयो,“सबै औषधी पसलहरुलाई चेकजाच गर्न आउने बिरामीको कोरोना सगँ सम्वन्धित ३ ओटा कार्डिनल साईन छुट्टाउन आग्रह गरेका छौं ।” उच्च ज्वरो, रुघाखोकी, स्वासप्रस्वासमा समस्या भएका विरामी आएमा तुरुन्तै स्वास्थ्य संस्था अथवा स्वास्थ्यकर्मीलाई भेट्न सुझाव दिने भनेर सम्झाएका छौं उहाँले भन्नुभयो ।

वालिङ नगरपालिकामा मास्क लगायत अन्य औषधीमा कालोबजारी नदेखिएको र मास्कको अभाव भने रहेको पाइएको पाण्डेले बताउनुभयो । ज्वरो, रुघाखोकी लागिहालेमा आत्तिहाल्नु पर्ने अवस्था छैन पाण्डेले भन्नुभयो,“मौसम परिवर्तनका समस्या हुनसक्छन् ।” कोरोनाको ख्याल गर्दै नगरस्तरीय सबै स्वास्थ्य चौकीलाई तयारी अवस्थामा राखेको पाण्डेले बताउनुभयो ।

वालिङ नगरपालिका भित्र रहेका सबै स्वास्थ्यकर्मीहरुलाई जनताको स्वास्थ्यमा खेलवाड नगर्न वालिङ नगर प्रमुख तथा विपद व्यवस्थापन समितिका संयोजक खाँणले आग्रह गर्नुभएको छ । वालिङ भित्र रहेका स्वास्थ्य चौकी होस वा औषधी पसलमा चेकजाँच गर्न आउने विरामीको ठेगाना र फोन नम्वर राखेर त्यसको डाटा नगर शाखाले संकलन गर्न प्रमुख खाँणले शाखा प्रमुखलाई निर्देशन दिनुभएको छ ।

अनुगमनमा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, इलाका प्रशासन वालिङका प्रमुख दामोदर शर्मा, वडा प्रहरी कार्यालयका प्रमुख निरन्जन घिमिरे लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

अबैध ओसापसार बाट पनि विभिन्न खालका रोगहरु भित्रने भएकाले सबै ठाँउमा चेकजाँचलाई कडाई गरिएको वडा प्रहरी कार्यालयका प्रमुख घिमिरेले बताउनुभयो । सबैको सुरक्षामा प्रहरी सदैव साथमा छ प्रहरी निरिक्षक घिमिरेले भन्नुभयो,“ कुनै अबैध धन्दा गरेको थाहा पाएमा तुरुन्त खबर गर्नुहोला ।” घिमिरेले यस्तो विपतमा कसैले कालोबजारी नगर्न अनुरोध गर्दै गरेको थाहा हुन आएमा कानुनी दायरमा ल्याउने बताउनुभयो ।

औषधी पसल संचालकहरुले भने मास्क नै नपाइएको बताएका छन् । ११ स्थानीयतह मध्ये वालिङले अनुगमन र सचेतनाको अभियान सुरु गरेको छ भने अन्य स्थानीयतहले पनि तयारी थालेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्